२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मेयर र उपमेयर भारत जाँदा नुवाकोटको बेलकोटगढी नगरपालिकामा सार्वजनिक विदा !


-प्रतिमा ढुंगाना

२७ माघ, नुवाकोट । संघीयताको विभिन्न विकृत रूपमा देखा परिरहेका छन । कार्यान्वयनका क्रममा यस्ता विकृत रूपहरू देखिनुलाइ अस्वभाविक मान्न सकिन्न । यद्यपी कतिपय अवस्थामा स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूको इच्छा र निर्णय देखेर स्वयं वडा अध्यक्षहरू चकित हुने गरेका छन ।

नुवाकोट जिल्लाको सबैभन्दा ठूलो नगरपालिका बेलकोटगढीका मेयर र उपमेयर एउटा युएनओपिएस भन्ने विवादित संस्थाको प्रायोजनामा भारत हिडेको दिन स्थापना दिवसको नाम गरेर सार्वजनिक विदा घोषणा गरिएको छ । जुन कुरा नगर कर्यपालिकाका प्रवक्ता समेत रहेका वडा १३ का वडा अध्यक्ष पशुपति लोहनीले सार्वजिनक रूपमै प्रतिवादन गरेका छन ।

उपमेयर ढुंगानाले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको विदाको निर्णय र त्यसमा आपत्ति जनाउँदै कार्यपालिकाका सदस्य एवं प्रवक्ता पशुपति लोहनी ।

नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुंगाना युएनओपिएस प्रायोजनमा सोमबार भारत उडेका छन । नगरपालिका स्रोतका अनुसार मेयर र उपमेयर दुबै भरत उडेको अवसरमा सार्वजनिक विदा भन्न नमिलेपछि एक महिनापछिको स्थापना दिवसको नाम गरेर सोमबार सार्वजिनक विदा घोषणा गरिएको छ ।  त्यो पनि उत्सवको रूपमा मानाउन उर्दी जारी गरिएको छ ।

नगरपालिकाका सातौँ तहका अधिकृत शिवराम अधिकारीले माघ २४ गतेको मिति राखेर हस्ताक्षर गरेको स्थापना दिवसको नाममा सार्वजिनक विदा घोषणा गरिएको विज्ञप्ति सुरूमा उपमेयर ढुंगानाले फेसबुक मार्फत सार्वजनिक गरेकी थिइन । तर त्यहाँ वडाअध्यक्षहरूले नै प्रतिवादन गर्न थालेपछि उनले आफ्नो पोस्ट डिलिट गरिन ।

ढुंगानाले नै त्यही फेसकुबमा जनाएको प्रतिक्रिया अनुसार पनि नगरपालिकाको स्थापना दिवस फागुन २७ गते हो । तर मेयर र उपमेयर दुबै भारत उड्ने दिनको अवसर पारेर एक महिनाअघि नै स्थापना दिवसको नाममा सार्वजनिक बिदाको घोषणा भयो । यसको समाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भैरहेको छ ।

नगरकार्यपालिकाका सदस्य त्यसमा पनि प्रवक्ताले नै फेसकुबमा हेरेर यस्तो महत्वपूर्ण विषयमा जानकारी पाउनुपर्ने हो भन्दै वडा अध्यक्ष लोहनीले प्रश्न गरेका छन । उनका अनुसार नगरकार्यपालिकाका अन्य सदस्य पनि कसैलाइ जानकारी दिइएको छैन । पछिल्लो समय नगरको नेतृत्व स्वेच्छाचारी ढंगले अघि बढेको यो घटनाले पुष्टि गर्छ । खनाल र ढुंगाना दुबैले भारत भ्रमणको विषयमा समेत कार्यपालिकाका सदस्यहरूलाइ जानकारी नदिएको बुझिएको छ ।

संविधानको धारा समेत उल्लेख गर्दै फागुन २७ गते नगरपालिकाको स्थापना दिवस रहेको जानकारी दिँदै उपमेयर ढुंगाना र त्यसमा प्रश्न गर्दै प्रेस संगठन नुवाकोटका अध्यक्ष भोलाराज पाैडेल ।

प्रेस संगठन नुवाकोटका अध्यक्ष भोलाराज पौडेलले पनि नगरपालिकाको विज्ञप्ति र ढुंगानाको टिप्पणी दुबै राखेर एक महिनापछिको स्थापना दिवसको एक महिना अघिनै सार्वजनिक विदा किन भन्दै प्रश्न गरेका छन । नगरपालिकाको स्थापना दिवसको नाममा सार्वजिनक विदा दिएर मेयर र उपमेयर दुबै भारत कुदेर के सन्देशन दिन खोजेको हो भन्दै उनले थप प्रश्न गरे ।

यो पनि पढ्नुहोस्

-विवादित संस्थाको प्रायोजनमा निर्लज्ज बनेर भारत घुम्न जान्नः अध्यक्ष वस्ती

-नुवाकोटका १० स्थानीय तह ६ दिन ठप्प, युएनओपिएसको प्रायोजनामा जनप्रतिनिधि भारत उड्दै

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार ०९:१३