११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

२१ माघ, काठमाडौं आज विश्व क्यान्सर दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाइँदै छ ।

स्वास्थ्य मन्त्रालयले पनि क्यान्सरसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिन लागेको जनाएको छ ।

पछिल्लो समय नेपालमा पनि क्यान्सर रोगीहरू बढेका छन् । क्यान्सरको तेस्रो वा चौथो चरणमा उपचार गर्न आउँदा समस्या हुन्छ । पहिलो र दोस्रो चरणसम्मको क्यान्सर उपचार सहज हुने चिकित्सकहरु बताउँछन् । तसर्थ क्यान्सर लाग्न दिनुभन्दा अगावै आफ्नो स्वास्थ्यको समयसमयमा उपचार गराइरहनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष करिब एक करोड ९० लाखमा क्यान्सरको संक्रमण पाइएको छ । क्यान्सर लागेकाले डराएर बस्नुभन्दा पनि त्यसलाई जित्छु भन्ने आत्मविश्वासले पनि रोग निको हुने चिकित्सकहरुको भनाइ छ ।

क्यान्सर के हो ?
हाम्रो शरीर करोडौँ सूक्ष्म कोषहरूले बनेको हुन्छ । जब तीमध्येका केही कोष बिग्रिन्छन्, तिनीहरूले आफ्नो काम गर्न छोड्छन् । काम नलाग्ने कोष बढ्दै गएपछि त्यो अंगमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यो अङ्गले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन् । क्यान्सर दीर्घ रोग हो । शरीरको कुनै पनि अङ्गमा हुनसक्छ । यो एक प्रकारको घाउ हो जुन फैलिँदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ । अहिले संसारमा वार्षिक एक करोडको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्यांक छ । नेपालमा हरेक वर्ष ४० हजार क्यान्सरका बिरामी थपिने गरेको अनुमान छ ।

क्यान्सरका कारण
सामान्य अवस्थामा काम गरिरहेका कोषहरूमा केही परिवर्तन आउँछ र ती बढ्न थाल्छन् । अनि क्यान्सर हुन्छ । क्यान्सरको मुख्य कारण चुरोट, खैनी, मद्यपान हो । अस्वस्थकर खानपान र जीवनशैलीका कारण पनि क्यान्सर बढिरहेको छ । प्रदूषणको कारणले क्यान्सर हुने गर्छ ।

क्यान्सरका लक्षण
कमजोरी हुने र तौल घट्नु, शरीरका कुनै पनि अङ्गमा गिर्खा गाँठाहरू आउनु, छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जानु, मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुनु, खाना निल्दा दुख्ने र स्वर फेरिनु, लामो समयदेखि ग्यास्टिक, पेट पोल्ने वा उल्टी हुनु जस्ता अवस्था क्यान्सरका लक्षण हुन् ।

रोकथाम
सुर्तीजन्य पदार्थ र जाँडरक्सीको प्रयोग नगर्ने, पान सुपारीहरू नखाने, अस्वस्थ्यकर खानपिनको बानी व्यवहारमा सुधार गर्ने, जीवनशैलीमा सुधार ल्याउने, प्रदूषणबाट बच्ने, अन्य परिवारलाई क्यान्सर छ भने अन्यलाई पनि परीक्षण गराउने ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार ०७:५३