३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

१९ माघ, भक्तपुर परम्परागत वेशभूषामा देवगणको प्रतीकका रूपमा सजिएका व्यक्तिले नाङ्गो खुट्टा र मुकुण्डो लगाएर नाच प्रदर्शन सबैको आस्थाको विषय हो । वर्षभर जन्म र मृत्यु संस्कारसहित मनाइने नवदुर्गा नाच काठमाडौं उपत्यकालगायत वरपरका प्राचीन नेवाः सहरमा प्रदर्शन गरिरहेका छन् ।

महिषासुरको प्रतीक खँम्ये वध गरेसँगै भक्तपुरमा नवदुर्गा गण नाच सुरु हुन्छ । नवदुर्गाको देवगण नारायणमान बनमालाको अनुसार नवमीको मध्यरातमा असुरी शक्तिको प्रतीक खँम्ये अर्थात राँगोलाई ब्रह्मायणी पीठमा वध गरिन्छ । त्यसपछि तान्त्रिक शक्तिमा आधारित नवदुर्गाका मुकुटलाई प्रत्येक वर्ष नयाँ बनाएर सोही दिनदेखि नाच सुरु गर्नुपर्ने परम्परा रहेको खबर गोरखापत्र दैनिकमा छ ।

देवीनाचका लागि निर्माण गरिएका मुकुटमा कर्माचार्य समुदायले तान्त्रिक प्राण प्रतिस्थापन गरेका हुन्छन् । नयाँ बनाइएका मुकुटलाई भक्तपुर दरबारको तलेजुमा पुर्‍याएर आवश्यक पूजाविधिपश्चात नवदुर्गा भवानीको देवताघरमा राखिएको हुन्छ ।

दसैँको एकादशीदेखि सुरु हुने नवदुर्गा नाचलाई भक्तपुरका विभिन्न टोल तथा अन्य जिल्लामा समेत नचाइन्छ । आठ महिना नाचिने नवदुर्गा गणको नाच भक्तपुर नगरपालिका ९ सूर्यमढीबाट सुरु हुन्छ ।

काठमाडौँ उपत्यका लगायत उपत्यका बाहिरका विभिन्न स्थानमा प्रदर्शन हुने नाच भने अर्को साउन महिनाको भलभल अष्टमीसम्म सञ्चालन हुने गर्दछ । नाचमा मुकुन्डो लगाएर १९ जना देवगण रहने हुन्छन् । नाचमा भैरव, महाकाली, बाराही, गणेश, ब्रह्मयणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रूपमा देवगणले नाच्ने गर्छन् । नाचका क्रममा बाजा बजाउने समेत गरिन्छ ।

इतिहास यस्तो छ
इतिहासविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठका अनुसार वंशावलीका आधारमा यो नाचको थालनी भक्तपुरका राजा भुवन मल्ल (ई.स. १५०५ देखि १५१९) ले सञ्चालनमा ल्याएका हुन् । श्रेष्ठका अनुसार नेपाल संवत् ६३३ (ई.सं. १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन उनले नाच चलाएको पाइन्छ ।

स्वास्थ्यमा असर
भोको पेट र नाङ्गो खुट्टाले मात्र नियमिति ६ महिनासम्म प्रदर्शन गर्ने वनमाला समुदायको स्वास्थ्य नाजुक हुन्छ । खाना खान नमिल्ने हुनाले खाली पेटमा जाँड र रक्सीको भरमा यो नाच सञ्चालन भइरहको छ । यो नाचलाई कालान्तरसम्म जीवन्त राख्न र नयाँ पुस्तालाई यो नाच हस्तान्तरण गर्दै जान स्थायीखालको नियमित आयस्रोतको बन्दोबस्त गर्न जरुरी रहेको सो समुदायको भनाइ छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आईतवार ०६:३९

https://srdb.com.np/