कोरोनाविरुद्ध नेपालको तयारी प्रभावकारी
१८ माघ, काठमाडौं । चीनबाट फैलन सुरु गरेको नोबेल कोरोना भाइरस पछिल्लो समय विश्वभर फैलने क्रममा छ । विश्वभर कोरोना भाइरस फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य सङ्कट’ निम्त्याएको भन्दै आपत्काल घोषणा गरेको छ ।
नेपालमा पनि चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सरकारले भाइरस नियन्त्रण गर्न उच्च सतर्कता अपनाएको छ । ती विद्यार्थी उपचारपछि निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव खगराज बरालले नेपाल कोरोना भाइरसको जोखिममा नरहेको बताए । उनले सरकारले समयमै सतर्कता अपनाएका कारण जोखिम नरहेको स्पष्ट पारे ।
के हो कोरोना भाइरस ?
नोबेल कोरोना एक प्रकारको भाइरस हो । सङ्क्रमणपछि यसले रुघाखोकीदेखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउँछ र सङ्क्रमितको मृत्युसमेत गराउँछ । अहिले कुनै लक्षण बिना नै कोरोना भाइरस सङ्क्रमित भएका घटना बाहिर आएका छन् । विश्व स्वास्थ्य सङ्गठनले पहिचान नखुलेको कुनै पनि सङ्क्रामक भाइरस वा महामारीलाई पहिचान गर्नु अगाडि नोबेल नाम दिइने भएकाले यो सङ्क्रामक भाइरसको नाम नोबेल कोरोना भाइरस नामकरण गरिएको खबर गोरखापत्र दैनिकमा छ ।
कोरोना भाइरस डिसेम्बर अन्तिम सातामा चीनको वुहानबाट फैलिएको एक किसिमको भाइरस हो । यो भाइरस विश्वमा मानव जातिमा पहिलोपटक चीनमा देखिएको हो । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हालसम्म कसरी नोबेल कोरोना भाइरस मानव जातिमा फैलियो भन्ने अनुसन्धान पूरा भइसकेको छैन, गरिएका केवल आशङ्का हुन् ।
फैलिँदो स्वरूपले त्रास
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस संसारभर विस्तार हुने क्रममा छ । पछिल्लो समय मात्र भारत, मलेसिया, जापान, दक्षिण कोरियालगायत देशमा फैलिइसकेको छ । संसारभरि फैलने क्रममा रहेकाले विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । जुन देशमा स्वास्थ्य संरचना प्रभावकारी छैन त्यहाँ स्वास्थ्य सेवाको व्यवस्था राम्रो नभएकाले ती देशमा कोरोना भाइरसले भयावह स्थिति ल्याउन सक्ने सम्भावनालाई ध्यान दिँदै विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा आकस्मिक सङ्कटकाल घोषणा गरेको हो । विश्वका २४ देशमा यो भाइरस फैलिइसकेको छ ।
कोरोनाविरुद्ध नेपालको तयारी
कोरोनाविरुद्ध नेपालको तयारी सूक्ष्म र प्रभावकारी रहेको दाबी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आएका शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखेर भाइरसको सङ्क्रमण छ छैन भन्ने पुष्टि गरिरहेको छ । कोरोना भाइरसको शङ्का लागेमा उनीहरूलाई ‘आइसोलेसन’मा छुट्टै राख्ने र नियमित निगरानीमा राख्नुपर्छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले रिपोर्ट पोजेटिभ आएको अवस्थामा १५ दिन आइसोलेसनमै राख्नुपर्ने जानकारी दिए । एयरपोर्टमा भाइरस प्रभावित क्षेत्रबाट आउने मानिसलाई परीक्षण गर्ने व्यवस्था सुरु गरिसकिएको छ ।
चीनबाट आउने तातोपानी र रसुवा नाकामा स्वास्थ्य डेक्स स्थापना गरिएको छ । त्यहाँ पनि परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । पर्यटन क्षेत्र पोखरा, चितवन लगायतका स्थानमा समेत हेल्थ डेस्क राखिएको छ । ती क्षेत्रमा पनि कोरोना भाइरस लागेका व्यक्तिलाई उपचार गर्ने छुट्टै अस्पतालको व्यवस्था गरिएको छ ।
मृत्यु हुने दुई सय नाघे
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २१३ पुगिसकेको छ । नौ हजार मानिस सङ्क्रमित भएका छन् । इटालीमा पनि कोरोना भाइरसको पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमण हुने देशको सङ्ख्या २४ पुगेको हो ।
प्रकाशित मिति : १८ माघ २०७६, शनिबार ०६:४१