६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

१५ माघ, काठमाडौं । नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक ६ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो । आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल-तल्ल पाएको जागिरबाट आउने तलबले गाडीभाडा र खाजासमेत नपुगेपछि उनी अहिले अस्ट्रेलिया पुगेकी छन् ।

लोहनी जस्तै नर्सिङमा स्नातक सकेपछि सत्यम शर्माले पनि निक्कै मिहिनेत गरेपछि काठमाडौँका एक नर्सिङ कलेजमा जागिर पाइन् । पाँच वर्षसम्म काम गर्दा बल्ल १८ हजार रुपैयाँ पुगेको तलबले जीविकोपार्जन सम्भव नभएपछि उनी पनि अहिले अमेरिका पुगेकी छन् ।

समाजमा निकै ‘आकर्षक’ देखिने नर्सिङ पेसाबाट उचित सेवा सुविधा नपाएपछि हजारौँ जनशक्ति विदेश पलायन भएका छन् । नेपाली विशेषगरी नर्सहरू अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, थाइल्यान्ड, सिङ्गापुर, कुवेत, साउदीलगायत देशमा कार्यरत रहेको खबर गोरखापत्र दैनिकमा छ ।

नेपाल नर्सिङ सङ्घकी कोषाध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नर्सिङ क्याम्पसकी प्राध्यापक कल्पना श्रेष्ठले नेपालमा नर्सहरूलाई अवसरको खाँचो रहेको बताइन् । ‘‘सुरुमा नर्स भन्नेबित्तिकै सेवा र अवसर पनि होला भनेर अध्ययन गर्छन्,’’ प्राध्यापक श्रेष्ठले भनिन्, “तर अध्ययन सकेपछि कुनै अवसर नपाउँदा विदेशिने नर्सहरूको सङ्ख्या अत्यधिक छ ।”

कतिपय अस्पतालले सुरुमा स्वयं सेवक भई काम गरेपछि मात्र तलब दिने त्यो पनि आठ, दस हजार रुपैयाँमा काम लगाइने प्रवृत्ति छ । निजी अस्पतालहरूमा रोजगार पाउनसमेत ठूला व्यक्तिको ‘सोर्स’ लगाउनुपर्ने अवस्था रहेकाले नेपालमा नर्सलाई पारिश्रमिक अन्त्यन्त कम भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार ०६:४१