सिरियाली आक्रमणमा झण्डै १०० जना बिद्रोहीको मृत्यु
९ फागुन, काठमडाैँ । सिरियाली सरकारी फौजले दमास्कसको बाहिरी भागमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा बमबारी गर्दा २० जना बालबालिका सहित एक सय जना भन्दा बढी मानिसहरु मारिएको उद्धार टोली तथा अनुगमनकर्ताहरुले बताएका छन् । बेलायतस्थित अनुगमन समूह ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राईट्स’ र ‘ह्वाइट हेल्मेट्स’का अनुसार सोमवार भएको बमबारीमा एक सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

सिरियाली फौजले विद्रोही नियन्त्रणमा रहेको उक्त क्षेत्र पुनः प्राप्त गर्नका लागि आक्रामक कदम चालेका थिए । राजधानी नजिक रहेको पूर्वी गुटा विपक्षीको नियन्त्रणमा रहेको अन्तिम प्रमुख क्षेत्र हो । डुमा, मिसराबा र अलनशाविया क्षेत्रमा भएका हवाई आक्रमणमा नागरिकहरु मारिएका वा घाइते भएका छन् ।
एउटा उद्धार समूहले मंगलवार मिसराबामा तीन जना र अलमर्जमा चार जना मारिएको जनाएको छ । आक्रमण मङ्गलबार विहानसम्म पनि जारी रहेको जनाइएको छ । यसैबीच टर्कीले उत्तरी सिरियामा टर्कीका सेनाविरुद्ध लडिरहेका कुर्द लडाकुहरुलाई सहयोग नगर्न सिरियाली सरकारलाई चेतावनी दिएको छ ।
प्रकाशित मिति : February 21, 2018 at 12:08 am










