१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

सभामुखको उम्मेदवारी दर्ता आज, निर्वाचन माघ १२ मा

७ माघ, काठमाडौं नयाँ सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि २ बजेसम्मका लागि तोकिएको संसद् सचिवालयद्वारा जारी सूचनामा छ । सभामुखको निर्वाचन भने माघ १२ गते हुनेछ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि संसदका ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्दै निर्वाचनको मिति तथा कार्यतालिका घोषणा गरेका हुन् ।

हिजो अपराह्न ४ बजे बसेको प्रतिनिधिसभा दोस्रो बैठकले रिक्त सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार अहिले ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ता भएपछि साढे २ बजे ती उम्मेदवारको दर्ता सूची प्रकाशन गरिनेछ । हिजो संसद सचिवालयले जारी गरेको सूचनाअनुसार माघ १२ गते निर्वाचन गर्ने कार्यतालिका तय गरिएको छ ।

गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै एक कर्मचारीमाथि यौनदुर्व्यवहारको प्रयास गरेपछि राजीनामा दिएसँगै प्रतिनिधिसभा सभामुखविहीन छ ।

प्रकाशित मिति : 07:12