३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

पशुपति क्षेत्रका भट्टी पसल हटाइँदै

७ माघ, काठमाडौं पशुपति क्षेत्रमा खुलेका मदिरा र भट्टी पसललाई पशुपति क्षेत्र विकास कोषले हटाउने तयारी गरेको छ । यसका लागि कोषले स्थानीय वडा कार्यालयसँग परामर्श लिने काम सकेको छ ।

काठमाडौँ महानगरपालिका ७ सिफललगायत क्षेत्रमा भने वडा कार्यालय र सामुदायिक प्रहरीको संयुक्त अग्रसरतामा यी पसल हटाइने भएको खबर गोरखापत्र दैनिकमा छ । पशुपति क्षेत्रलाई मासु र मदिरामुक्त क्षेत्र बनाउने क्रममा पहिलो चरणमा भट्टी पसल चहार्दै मगन्ते जीवन बिताइरहेकालाई कोषले हटाएर मानव धर्म सेवा समितिको संरक्षकत्वमा व्यवस्थित गरेको छ ।

आश्रमबाट फर्केर यही प्रवृत्ति दोहरिन थालेपछि कोषले मदिरा पसल र भट्टी हटाउन लागेको हो । कोषका कोषाध्यक्ष मिलनकुमार थापाका अनुसार मगन्ते हटाएपछि अब यहाँका अव्यवस्थित फूल तथा पूजा सामग्री पसल हटाउने र भाडामा दिएकालाई स्थानान्तरण गरी मदिरा, मासु पसल हटाइने जनाइएको छ ।

कोषले यस्ता पसल हटाउन सातदिने सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । सूचना अवलम्बन गरिएपछि प्रशासनिक निकायको सहकार्यमा यी पसल हटाइनेछ । कोषाध्यक्ष थापा भन्छन्, ‘‘कोष आफैंले भाडामा लगाएका ६४ टहरा कबलबाट २०६१ सालयता भाडा पाएको छैन र यी टहरा कबल अव्यवस्थित पनि भए ।’’

वडा ७ का वडासदस्य कृष्णमणि भट्टराईका अनुसार, वडा ७ को पशुपति क्षेत्र जोडिने इलाकामै ५ सयको हाराहारीमा मासु र मदिरा पसल छन् । सिफलको क्षेत्रमा दैनिक १२ वटासम्म खसी काट्ने मासु पसल छन् भने बाटामा मासु भाग लगाएर बिक्री गर्ने कार्य पनि त्यत्तिकै गरिन्छ ।

कोषका अधिकृतका अनुसार, गुह्येश्वरीमा भुटन पाइने नाम कहलिएको भट्टी यत्रतत्र छन् । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई समस्त हिन्दुको गन्तव्य र सम्पदाको भावनामा ल्याउनै सकिएन भन्ने व्यापक जनगुनासो रहँदै आएको छ ।

पशुपतिको भुवनेश्वरी आसपास, गुह्येश्वरी पुलपारि, सिफल सेताढोका प्रवेशपछिका पसललाई मासु र मदिरा मुक्त गरिनुपर्छ भनेर स्थानीय सर्वसाधारणबाट गुनासो गरिँदै आएको छ ।

प्रकाशित मिति : January 21, 2020 at 6:45 am