१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

वर्षाले ९ करोडकाे इँटा नष्ट

५ माघ, भक्तपुर । लगातार दुई दिन परेको वर्षाले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । लगातार २४ घण्टा परेको वर्षाका कारण यहाँका इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा पूर्णरुपमा नष्ट भएका भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्याम्वाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पोल्नलाई तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा नष्ट भए, एउटा इँटाभट्टामा कम्तीमा आठ लाख र बढीमा नौ लाखको सङ्ख्यामा काँचो इँटा नष्ट भएका छन्, अब पोल्ने इँटा नै छैन, भट्टामा आगो जोगाउनै मुस्किल पर्यो ।”

इँटा नष्टहुँदा व्यवसायीलाई करीब रु नौ करोड बराबरको नोक्सान भएको अध्यक्ष ह्याम्वाले जानकारी दिनुभयो । काँचो इँटा नहुँदा भट्टाको आगो निभाउनुपर्ने अवस्था सृजना भएकाले झन् जोखिम बढेको बताउँदै उहाँले आगो जोगाउन इँटा नभए पनि कोइला हालिरहनुपर्ने भएकाले दोहोरो खर्च बढेको बताउनुभयो । पुरानो इँटा मौज्दात भएकाले तत्काल इँटाको अभाव पनि नहुने र मूल्य पनि नबढ्ने उल्लेख गर्दै उहाँले व्यवसायीलाई समस्या परेकाले नगरपालिका र सरकारसँग कर छुट दिन माग गर्नुभयो ।

वर्षाका कारण व्यवसायीलाई मात्रै नभई मजदूरलाई समेत निकै नोक्सान पुर्याएको छ । चाङ लगाएको इँटामा ३३ प्रतिशित नोक्सानी मजदूरले व्यहोर्नु पर्ने व्यवस्था गरिएको छ । वर्षाले हुने क्षतिमा भुइँमा भएका र सुकाएका इँटाको सम्पूर्ण नोक्सानी मजदूरले व्यहोर्नुपर्ने र चाङ लगाएका इँटाको नोक्सानी भने ६७ प्रतिशत व्यवसायी र ३३ प्रतिशत मजदूरले व्यहोर्नुपर्ने व्यवस्था छ ।

इँटाभट्टाका मजदूर भकुण्डेबेँसीका रामबहादुर विकले वर्षाले इँटा नष्ट हुँदा निकै मारमा परेको बताउनुभयो । उहाँले साहुले जिम्मा नलिएको इँटाको नोक्सानी सबै आफैँले व्यहोर्नुपर्ने भएकाले यहाँका सबै इँटाभट्टाका मजदूर इँटा नष्ट हुँदा मारमा परेका बताउनुभयो ।

प्रकाशित मिति : January 19, 2020 at 12:57 pm