अपडेट : बाह्रबीसे बजारमा तनाव, स्थानीय प्रशासनले लगायो कर्फ्यु
५ माघ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसे बजारमा तनाव सिर्जना भएको छ । अरनिको राजमार्ग आसपासका घर टहरा भत्काएको विषयमा स्थानीयले प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान एक विज्ञप्ति प्रकाशन गर्दै कर्फ्यु लगाएको जानकारी दिइएको छ । बाह्रबीसे नगरपालिका वडा ३, ४, र ९ को अरनिको राजमार्गमा आसपास बनाइएका अस्थायी संरचना भत्काएको विषयमा स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कर्फ्यु आदेश जारी गरेको हो ।
प्रजिअ गोमादेवी चेम्जोङले अहिले बिहान ८ देखि बेलुकी ५ बजेसम्म कर्फ्यु लगाइएको विज्ञप्तिमार्फत जनाएकी छन् । हुलदंगा र अशान्ति हुन सक्ने सम्भावना देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा (३क) बमोजिम कर्फ्यु लगाइएको हो ।
बाह्रबीसे बजारदेखि पूर्व ३ सय मिटर, पश्चिम भोटेकोसी नदीको मोटरेबल पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ पिस्कर र क्षमादेवी जाने बाटोसम्म कर्फ्यु लगाइएको छ ।
टहरा हटाइएको विषयमा असन्तृष्ट पक्षले शनिबार बाह्रबीसे नगरपालिकाको कार्यालयमा प्रदर्शन र नाराबाजी गरेका थिए । उनीहरुले आइतबार बिहान ९ बजे नपाको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम राखेका थिए ।
प्रकाशित मिति : January 19, 2020 at 8:24 am







