रोकियो लगातारको वर्षा !
४ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको लगातारको वर्षा रोकिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर भएको अविरल वर्षा आज (शनिबार) बाट कमी आउने जनाएको छ ।
महाशाखाले यद्यपि पश्चिमी क्षेत्रका केही स्थानमा अझै हल्का वर्षा भइरहे पनि आजबाट मौसममा क्रमिक सु्धार आउने बताएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार आउँदै गएको महाशाखाको अनुमान छ ।
बिहीबार र शुक्रबार देशभरकै मौसम बदलीसँगै वर्षा र हिमपात भएको थियो । शनिबार उपत्यकाको मौसममा पूर्ण रुपमा सुधार नआए पनि वर्षा भने रोकिएको छ ।

महाशाखाका अनुसार अहिले देशभरकै मौसम आशिंकदेखि सामान्य बदली भई धेरै ठाउँमा बाक्लो हुस्सु लागेको छ । काठमाडौं उपत्यकामा पनि बिहानदेखि नै बदलीसहित हुस्सु लागेको छ ।
शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी तथा तराई भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
काठमाडौंमा लगातारको वर्षा शुक्रबार रातिदेखि रोकीएको थियो । बिहीबार साँझदेखि उपत्यकामा निरन्तर वर्षा भएको थियो ।
महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौंमा ४८ मिलिमिटर वर्षा भएको छ । वीरेन्द्रनगरमा ६०, धनगढीमा ३८, डडेलधुरामा २२, भैरहवामा ४१, दाङमा २०, पोखरामा २६ र नेपालगन्जमा १० मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : January 18, 2020 at 8:59 am







