३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

६ महिनामा ३२ पैदलयात्रुको मृत्यु

४ माघ, काठमाडौं । विगत ६ महिनामा ३२ पैदलयात्रीको मृत्यु भएपछि ट्राफिक प्रहरीले सचेतना अभियान थालेको छ । उपत्यकामा प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रीलाई नियन्त्रणमा लिई ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिन थालेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले जथाभावी बाटो काट्दा यात्रु र सवारीसाधन दुवै दुर्घटनामा पर्ने गरेको बताए । दुर्घटना नियन्त्रणका लागि पैदलयात्री केन्द्रित कारबाही अभियान सञ्चालन गरिएको उनले स्पष्ट पारे । आकाशे पुल मुनिबाट बाटो काट्ने र जेब्रा क्रसिङ प्रयोग नगर्नेलाई कारबाहीसमेत थालिएको खबर गोरखापत्र दैनिकमा छ ।

जेब्रा क्रसिङ भएको स्थानबाट भन्दा आफूखुसी बाटो काटिदिँदा पैदलयात्री दुर्घटनामा पर्ने गरेको जानकारी दिँदै उनले जेब्रा क्रसिङ (सेतो धर्का) भएको स्थानबाट मात्र बाटो काट्न आग्रह गरे । आकाशे पुलको प्रयोग अनिवार्य गरिएको छ । आव ०७६/७७ मा उपत्यकामा भएका ७६ दुर्घटनामध्ये ३२ पैदलयात्रीले ज्यान गुमाएका छन् । गत आवमा २ सय ५४ दुर्घटनामध्ये ९३ पैदलयात्रीले ज्यान गुमाएको महाशाखाले जनाएको छ ।

कतिपय दुर्घटना तोकिएको जेब्रा क्रसिङभन्दा तल–माथिबाट बाटो काट्दा र सडक किनारा तथा छेउबाट हिँड्डुल गर्दा भएका छन् । अपांग र अशक्तका लागि ट्राफिक प्रहरी सहयोगी बन्नेछ, अन्यलाई नियन्त्रणमा लिई २० मिनेट सोही स्थानमा कक्षा लिनुपर्ने व्यवस्था गरिएको छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार रत्नपार्क, भोटाहिटी र वीर अस्पतालअगाडि कारबाही अभियान सञ्चालन गरिएको छ । प्रत्येक दिन हजारजना कारबाहीमा पर्ने गर्छन् । कारबाहीमा पर्नेमा कलेजका विद्यार्थी र शिक्षित वर्ग नै बढी छन् ।

प्रकाशित मिति : January 18, 2020 at 6:32 am