एमसीसीमा कुनै सैन्य मामिला नजोडिएको अमेरिकाको दाबी, भारतीय संलग्नता पनि अस्वीकार
३ माघ, काठमाडाैँ । नेपालस्थित अमेरिकी दूतावासले एमसीसी परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको दाबी प्रस्तुत गरेको छ । एमसीसीबारे नेपालमा चर्को बहस जारी रहँदा अमेरिकी दूतावासले एमसीसीसम्बन्धी १० बुँदा सार्वजनिक गरेको हो । उसले १० बुँदामा नेपालमा चलाइएको हल्ला जस्तो सैन्य मामिला र भारतीय संलग्ताको कुरा ठाडै अस्वीकार गरेको छ ।
दूतावासले एमसीसी विशुद्धरूपमा आर्थिक विकासमा केन्द्रित भएको बताएको छ। विद्युत लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य रहेको पनि दूतावासले प्रष्ट उल्लेख गरेको छ । उसले भनेको छ ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानुनले कुनैपनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ। एमसीसीमा सहभागी हुनका लागि नेपालले कतै पनि सम्मिलित हुनुपर्दैन वा हस्ताक्षर गर्नुपर्दैन ।’

दूतावासले भनेको छ “यो ५० करोड डलर एक अनुदान हो, जसमा कुनै स्वार्थ छैन, ब्याजदर छैन, वा कुनै लुकेको प्रावधान छैन। नेपालले गर्नुपर्ने भनेको सहमति भइसकेका परियोजनाहरूमा उक्त रकम पारदर्शी रूपमा खर्च गर्न प्रतिबद्ध हुनु मात्र हो,” उसले अघि भनेको छ।”एमसीसीले नेपालमा कुन परियोजनाहरूमा खर्च गर्ने भन्ने विषय नेपालको आफ्नै प्राथमिकताहरूका आधारमा नेपालीहरूले नै प्रस्ताव र निर्क्योल गरेका हुन्।”
दूतावासले नेपालको नेतृत्वको आग्रहमा अमेरिकी सरकारले सन् २०१२ मा नेपालसँग सहकार्य गर्दै एमसीसी कम्प्याक्टको योजना विकास गर्ने कार्यको थालनी गरेको बताउँदै नेपालका प्रत्येक सरकार र प्रत्येक नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकासका लागि नेपालमा एमसीसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा व्यक्त गरेको जनाएको छ। एमसीसी परियोजनाका टेन्डरहरू खुला, पारदर्शी, र सबैका लागि उपलब्ध रहेको जनाउँदै दूतावासले एमसीसीले काम गर्ने प्रत्येक मुलुकमा झैँ नेपालमा पनि संसदीय अनुमोदन जरुरी रहेको समेत दाबी गरेको छ ।



प्रकाशित मिति : January 17, 2020 at 7:04 pm









