आबुधाबी दुर्घटनामा ३ नेपालीको मृत्यु, १४ जना घाइते (मृतक र घाइतेको नामसहित)
३ माघ, काठमाडाैँ । आबुधाबीमा भएको सवारी दुर्घटनामा ३ जना नेपाली नागरिकको ज्यान गएको छ । दुर्घटनामा १४ जना नेपाली घाइते भएका छन् । नेपालीहरू सवार बस लरीमा ठोक्किएको थियो । एमबीएम कम्पनीमा कार्यरत उनीहरु कार्यालयतर्फ जाँदै थिए । दुर्घटना बिहीबार बिहान ५ः३० बजे भएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ र झापाकी कृष्णकुमारी अधिकारी रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ । बसमा चालकसहित २४ सवार थिए । जसमा २३ महिला रहेको बताइएको छ । यसअघि ०७६ असोजको दोस्रो साता दुवईमा नेपाली चढेको सवारी दुर्घटना भएको थियो । जसमा ६ नेपालीले ज्यान गुमाएका थिए ।

दुर्घटनामा घाइते हुनेहरूमा झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई, सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा रहेकी छन् । त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् । उनीहरूको एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति : January 17, 2020 at 9:24 am









