२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

बीसीसीआईको ‘कन्ट्रयाक्ट’बाट धोनी ‘आउट’

३ माघ, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्नो वार्षिक अनुबन्धनबाट पूर्वकप्तान महिन्द्रसिंह धोनीको नाम हटाएको छ । बीसीसीआईले २७ खेलाडी विभिन्न वर्गमा समावेश गरिएको सूची सार्वजनिक गरेको छ । तर, त्यो सूचीमा धोनी परेनन् ।

बीसीसीआईले सार्वजनिक गरेको सूचीको ए प्लस श्रेणीमा मात्र ३ खेलाडी छन् । कप्तान विराट कोहली, रोहित शर्मा र जसप्रित ए प्लस श्रेणीमा अटाए । ए प्लस श्रेणीका खेलाडीले वार्षिक ७ करोड पाउँछन् ।

ए श्रेणीमा ११ खेलाडी सहभागी छन् । रविचन्द्रन अश्विन, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिन्क्यै रहाने, लोकेश राहुल, शिखर धवन, मोहम्मद सामी, इशान्त शर्मा, कुलदीप यादव र ऋषभ पन्त ए श्रेणीमा परेका छन् । ए श्रेणीका खेलाडीले भने बीसीसीआईसँग वार्षिक ५ करोड भारतीय रुपैयाँ लिन्छन् ।

यस्तै मयन्क अग्रवाल ठूलो फड्को मार्दै बी श्रेणीमा परेका छन् । ‘बी’मा पर्ने खेलाडीले वार्षिक  ३ करोड भारतीय रुपैयाँ पाउनेछन् । यस्तै ऋद्धिमन साहले पनि बी श्रेणीमा उक्लिएका छन् । उमेश यादव, युज्वेन्द्र चाहल, हार्दिक पाण्ड्या साह पनि बी श्रेणीमा पर्न सफल भएका छन् । अम्बाटी रायडू, दिनेश कार्तिक र खलिल अहमद पनि बीसीसीआईको अनुबन्धनको परिधिबाट बाहिरिएका छन् ।

यता नवदीप सैनी, दीपक चाहर, श्रद्धुल ठाकुर, श्रेयस ऐयर र वासिंगटन सुन्दर, केदार जाधर, मनीष पाण्डे, हनुमान बिहारी भने सी श्रेणीमा अनुबन्ध हुन सफल भएका छन् । सन् २०१९ को सूचीमा कप्तान धोनीलाई पहिलो श्रेणीमा राखिएको थियो । २०१९ मा विश्वकपयता धोनी कुनै पनि अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भएका छैनन् । –एजेन्सी

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार ०७:४८