३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

छात्रामाथि बलात्कारको प्रयास गर्ने गणेश आचार्य पक्राउ, मिल्नका लागि पीडितलाई आफन्तको दबाब

१ माघ, खोटाङ । यौन दुव्र्यवहारको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु प्राविधिक पक्राउ परेका छन् । भेटेरिनरी विषयको ओजेटी गरिरहेकी छात्रालाई यौन दुव्र्यहार गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएपछि नगरपालिकाका पशु प्राविधिक गणेश आचार्य पक्राउ परेका हुन् ।

आचार्यमाथि आफ्नै कार्यकक्षमा ओजेटीमा आएकी छात्रालाई यौन दुव्र्यहार गरेको अभियोगसहित उजुरी परेपछि मङ्गलबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो । “आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै छात्राले उजूरी दिएलगत्तै आरोपित आचार्यलाई पक्राउ गरिएको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेका आचार्यलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ ।”

जबरजस्ती करणी (बलात्कार) प्रयास उद्योग महलअन्तर्गत मुद्दा दर्ता गरेर कारवाही थालिएको आचार्यलाई बिहीबार जिल्ला अदालतमा लगेर म्याद थप्ने तयारी गरिएको प्रहरीले जनाएको छ । बुधबार सार्वजनिक बिदा भएकाले बिहीबार मात्र आचार्यलाई अदालत हाजिर गराउने तयारी गरिएको प्रनाउ गौतमले बताउनुभयो ।

प्रहरीमा उजूरी दिएर पीडक पक्राउ परेपछि उनका आफन्तले मिल्नका लागि फोन र भेटघाटमा दवाव दिइरहेको पीडित छात्राले गुनासो गरेकी छन् । स्रोतका अनुसार अध्ययनरत विद्यालयबाट ओजेटीमा नगरपालिका पठाइएका तीन जना विद्यार्थीमध्ये उनलाई यथास्थानमा राखेर दुई जनालाई भने पशु चिकित्सालय तथा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलमा पठाइएको छ ।

प्रकाशित मिति : January 15, 2020 at 11:08 pm