बालुवाटार जग्गा प्रकरणका अभियुक्त ढकालको घरमा बम बिस्फोट, विप्लव समूहले लियो जिम्मा
१ माघ, काठमाडाैँ । बालुवाटारको सरकारी जग्गा कब्जा गर्न महत्वपूर्ण भूमिका खेल्ने नेकपा निकटका व्यवसायी डा शोभाकान्त ढकालको घरमा बम बिस्फोट भएको छ । काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको ढकालको घरमा बुधबार राती ८ बजे बम विस्फोट भएको हो । ढकालको घरमा विप्लव समूहले विस्फोट गराएको जनाएको छ । यसअघि नै भूमाफियाविरूद्ध कारबाही अभियान चलाउने घोषणा गरेको विप्लव समूहले बुधबारको बिस्फोटको पनि जिम्मा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रमुख उत्तम सुवेदीका अनुसार बिस्फोटका समयमा ढकालको परिवार घरभित्रै भए पनि कुनै मानवीनय क्षति हुन पाएन । बिस्फोटबाट ढकालको घरको गेटमा र पार्किङ गरेर राखिएको गाडीमा क्षति पुगेको छ । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार दुई जना युवाले बम फ्याँकेर भागेका थिए । बिस्फोटमा बाटो हिड्दै गरेका एक जना सामान्य घाइते भएका छन ।
घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ भने बिस्फोट गराउनेको खोजी सुरू गरेको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ । प्रहरीले विस्फोट भएको तर बम वा अरु केही भन्ने अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति : January 15, 2020 at 9:45 pm









