माघ १ मा सम्यक दान
२८ पुस, काठमाडौं । बौद्ध धर्मावलम्बीले माघ १ गते सम्यक दान पर्व भव्य रुपमा मनाउने भएका छन् । नेपाल संवत ७८७ भन्दा पहिलेदेखि यहाँ सो पर्व मनाइँदै आइएको बताइन्छ ।
सम्यक दान व्यवस्थापन समितिले प्रेस विज्ञप्ति जारी गर्दै पर्व मनाउन तयारी पूरा भएको जनाएको छ । पाँच दिपकंरसहित अन्य स्वर्ण दिपंकरका मूर्तिलाई स्थानीय थथुवहिमा विराजमान गराई यहाँको नियमित र ऐच्छिक सम्यक भोजन गराई सम्यक दान पर्व मनाइन्छ । चतुर्बह्म महाविहारका बज्राचार्य जयरत्ले पर्वको आरम्भ गरेको मान्यता छ ।

यो पर्व हरेक वर्ष मकर सङ्क्रान्तिका अवसरमा मनाइने गरिन्छ । सम्यक दानमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्धुलाई भोजन, अन्न दक्षिणा दिने परम्परा रहेको सम्यक महादान व्यवस्थापन समिति अध्यक्ष गणेश वज्राचार्यले जानकारी दिए ।
यहाँ रहेको प्रमुख पाँच दिपंकर बुद्धको प्रतिमूर्तिलाई वर्षको दुईपटक सम्बन्धित विहारबाट बाहिर ल्याई जात्रा गर्ने प्रचलनअन्तर्गत सम्यक दान पर्वका दिन पाँच दिपंकर बुद्धको प्रतिर्मूति विराजमान गराउने परम्परा रहेको राजुमान वज्राचार्यले बताए ।
काठमाडौँमा १२ वर्षमा एकपटक स्वयम्भूको भुइख्याल, ललितपुरमा पाँच वर्षमा एकपटक नागवहाल र भक्तपुरमा प्रत्येक वर्ष पर्व मनाउँदै आइएको छ । नःपुखुको पश्चिम थथुवहिको परिसरमा रहेको भुइख्याल क्षेत्रमा सम्यक भोजन दान गरिने चलन रहेको देवचन्द्र बज्राचार्यले जानकारी दिए । धर्तीमा उब्जनी भएका सबै व्यञ्जन र विशेष परिकार बनाएर चढाउने र भिक्षा दाने परम्परा रहेको उनले बताए । –तस्बिर पनि रासस
प्रकाशित मिति : January 13, 2020 at 9:17 am







