१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

प्रतिनिधिसभाको बैठक आज : सभामुख चयनको अन्योल कायमै, आउला त शिवमायाको राजीनामा ?

२७ पुस, काठमाडौं प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइए पनि बैठकको कार्यसूची तय हुन सकेको छैन । आजको बैठकमा सभामुख निर्वाचनको कार्यतालिका गराउने तयारी गरिए पनि सभामुखमा सत्तारुढ नेकपाभित्रको रस्साकस्सीकै कारण बैठक बस्ने/नबस्नेबारे अन्योल छ ।

यसअघि दुईपटकसम्म सभामुख चयन गर्ने गरी कार्यतालिका तय गरिएको भए पनि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसकेपछि पुस ११ र १६ गते बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

फाइल तस्बिर ।

नेकपा सचिवालयको शनिबारको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरिसकेको छ । उनले राजीनामा नदिने अडान त्यागेकी छैनन् । अर्कातिर, पूर्वएमाले र पूर्वमाओवादीबीच सभामुख पद आफ्नो पक्षले पाउनुपर्ने अडान पनि यथावतै छ ।

अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्बाङलाई सभामुख बनाउने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउने अडानमा छन् ।

सभामुख उम्मेदवारको टुंगो नलागेको र उपसभामुखको राजीनामा पनि आइनसक्दा सभामुख निर्वाचनको कार्यतालिका बनाउने गरी बस्ने भनिएको प्रतिनिधिसभा बैठक अन्योलमा परेको हो । गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त छ ।

प्रकाशित मिति : 09:40