स्थायी राजधानी र नामका लागि केहीबेरमा मतदान
२७ पुस, काठमाडौं । प्रदेश ३ को स्थायी राजधानी र प्रदेश नामकरणका लागि आज मतदान हुने भएको छ । प्रदेशको स्थायी राजधानी र प्रदेश राजधानीको नामका लागि हिजो (शनिबार) दर्ता भएको प्रस्तावमाथि अहिले ९ बजेपछि मतदान हुने भएको हो ।
प्रदेश राजधानीका लागि दुई स्थान र प्रदेशको नामकरणका लागि दर्ता भएको एक मात्र प्रस्तावमाथि हिजोको प्रदेशसभा बैठकमा छलफल भएको थियो । प्रदेशसभा बैठकमा स्थायी राजधानीका हेटौँडा कायम गरियोस् भन्दै नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेल प्रस्ताव गरे । प्रस्तावमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) की रीना गुरुङले समर्थन गरेका थिए । यस्तै विवेकशील नेपाली दलका रमेश पौड्याल प्रस्तावक तथा साझा पार्टीका शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थनमा धुलिखेललाई स्थायी राजधानी कायम गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
प्रदेश ३ को नाम बागमती राखियोस् भन्ने कांग्रेस संसदीय दलका नेता बानियाँले प्रदेशसभा बैठकमा पेस गरेको प्रस्तावमाथि नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँल, विवेकशील नेपाली दलका पौड्याल, साझा पार्टीका शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गुरुङ समर्थक गरेका थिए ।

प्रदेश राजधानीका लागि ५ र नाममा ७ दल एकै ठाउँमा
प्रदेश सभामा सभामुखसहित नेकपा, कांग्रेस, विवेकशील नेपाली दल, नेपाल मजदुर पार्टी, साझा पार्टी, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र गरी ११० प्रदेशसभा सदस्य छन् । प्रदेशको स्थायी राजधानी हेटौंडाको पक्षमा नेकपा, कांग्रेस, नेमकिपा, राप्रपा र राप्रपा संयुक्त छन् ।
यस्तै प्रदेशको स्थायी राजधानी धुलिखेलको पक्षमा विवेकशील नेपाली दल र साझा पार्टीले मतदान गर्ने भएको छ । प्रदेशको नाम बागमतीको पक्षमा विवेकशील नेपाली दल र साझा पार्टीसहित नेकपा, कांग्रेस, नेमकिपा, राप्रपा र राप्रपा संयुक्त छन् ।
प्रदेशको स्थायी राजधानी र नामकरण गर्न दुईतिहाइ बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने व्यवस्था संविधानमा छ ।
प्रकाशित मिति : 07:44







