३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

पशुपतिमा पर्यटनमन्त्री योगेशकुमार भट्टराईको आठ घण्टा

२६ पुस, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज पशुपतिनाथ क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । मन्त्री भट्टराईले पशुपति विकास कोषको चार किल्ला भित्रको समग्र क्षेत्रको आठ घण्टा पैदल हिँडेर निरीक्षण गर्नुभएको हो । पर्यटनमन्त्रीका साथमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलगायत टोली सहभागी थियो । मन्त्री भट्टराईले पशुपतिनाथको मूल मन्दिरसँगै अन्य धार्मिक महत्वका मठमन्दिरको अवलोकन गर्नुभएको थियो ।

त्यसैगरी भूकम्पपछिको पुनःनिर्माण भएका सम्पदा र पुनःनिर्माण हुन बाँकी सम्पदा, प्रमुख बगैँचा, धर्मशाला, गौशाला, भेटीधारी व्यवस्थापन, मन्दिरको सुरक्षा, घाट व्यवस्थापन, धारा, पानी, बिजुली तथा पशुपति परिसर भित्रका सार्वजनिक शौचालयको अवस्था, कैलाश क्षेत्र गृगस्थली, गौरीघाट क्षेत्रलगायत स्थलको हिँडेरै अवलोकन गर्नुभएको थियो ।

पर्यटनमन्त्रीले पशुपति क्षेत्र परिसरको सरसफाइ, तीर्थयात्रीको समस्या आदिबारे स्थलगत जिज्ञासा राख्नुभएको थियो । मन्त्रीसहितको टोलीले गोठाटारस्थित कोषको ३३४ रोपनी क्षेत्रफको जग्गाको पनि अवलोकन गरेको थियो । उक्त स्थानमा अन्तरराष्ट्रिय धार्मिकस्थल बनाउने जनाइएको छ । सो अवसरमा मन्त्री भट्टराईले पशुपति क्षेत्रभित्रको समग्र सुधार र आगामी योजनाबारे आगामी तीन दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्न कोषलाई निर्देशन दिनुभएको छ । रासस

प्रकाशित मिति : January 11, 2020 at 9:37 pm