प्रदेश २ का मन्त्रीलाई गाडीमाथि गाडी !
२६ पुस, जनकपुर । प्रदेश २ सरकारले २२ महिनामा उपलब्धिमूलक काम खासै गर्न सकेको छैन । मन्त्रीहरूले सेवासुविधा र सुखसयलमा भने कुनै कमी राखेका छैनन् । उनीहरूले तीनवटासम्म सरकारी गाडी उपभोग गरिरहेका छन् । केही मन्त्रालयले नयाँ गाडी खरिद प्रक्रियासमेत अघि बढाएका छन् ।

नयाँ गाडी प्रयोगमा ल्याएपछि पुरानोचाहिँ प्रशासनलाई बुझाउनुपर्ने हुन्छ । तर, उनीहरूले पुराना गाडी पनि नछाडेको खबर अन्नपूर्ण पोस्टमा छ । मुख्यमन्त्री लालबाबु राउतले मात्रै नयाँ किनिएको ज.१झ ४५६ नम्बरको एउटा गाडी प्रयोग गर्छन् । आर्थिक मामिलामन्त्री विजय यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दुवै गाडी चलाउँदै आएका छन् ।
उनीहरूले पुरानो गाडी आफन्त, परिवार र कार्यकर्ताको प्रयोगमा दिएको खुलेको छ । मन्त्री साहले नयाँ गाडी ज.१झ ४४६ र एउटा अर्को प्रयोग गरिरहेका छन् । कानुनमन्त्री यादवले ज.१झ ४४२ नम्बरको गाडी प्रयोग गरिरहेका छन् ।
महँगो गाडीको मोहप्रति वन राज्यमन्त्री सुरेश मण्डलले सार्वजनिक रूपमा विरोध जनाएका छन् । उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत त्यसमा असहमति जनाए ।
‘प्रदेश २ सरकारमा काम न काजका दुस्मन अनाजका भनाइ चरितार्थ हुँदै छ । प्रदेश सरकारका कामकाजमा सिन्कासम्म भाँच्न नसकेका असफल मन्त्रीहरू महँगो गाडी किन्ने अस्वस्थ प्रतिस्पर्धामा जुटेका छन् । एक वर्षअघि मात्र किनेको गाडी पुरानो पनि भएको छैन । गाडीको कन्डिसन पनि बहुतै राम्रो छ ।
प्रदेश सरकारको कामकाजको लागि काफी नै छ । बक्यौता रकम तिर्न बाँकी नै छ तर पनि मन्त्री पदको दुरुपयोग गर्ने, यस महत्त्वपूर्ण जिम्मेवारीलाई सुखसयल र मोजमस्तीको रूपमा लिने कतिपय मन्त्रीहरू गाडीको मोडेल हेर्न ब्रोसर पल्टाउँदै र सोरुम धाउँदै दिन बिताइरहेका छन्’, उनले फेसबुकमा लेखेका छन्, ‘दोस्रो चौमासिक बित्न लाग्दा हालसम्म नयाँ योजना र कार्यक्रमसमेत बनाउन नसकेका र गत आवका उपभोक्ताको समस्या समाधान गर्नतिर लाग्नुपर्नेमा प्रदेश र जनताको पैसा फजुल खर्च गर्नतिर राज्यमन्त्रीहरूलाई समेत छलेर भ्रष्ट कर्मचारीको मिलेमतोमा लाग्नु दुखद् हो ।’
प्रकाशित मिति : 07:01







