प्रदेश राजधानी हेटौँडाका लागि कांग्रेसको ह्विप
२६ पुस, हेटौंडा । प्रदेश ३ नेपाली कांग्रेस संसदीय दलले प्रदेशको स्थायी राजधानीको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने भएको छ । कांग्रेस प्रदेश संसदीय दलको शुक्रबार साँझ हेटौँडामा बसेको बैठकले प्रदेश राजधानी पक्षमा आफ्ना प्रदेश सभाका सदस्यहरुलाई ह्विप जारी गर्ने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका सचेतक छिरिङ्ग दार्जे लामाले दलको बैठकले प्रदेशको स्थायी राजधानीको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको जानकारी दिए । प्रदेशको नामकरणका सवालमा अहिले खुला छौ भन्दै उनले भने, कुनै निर्णय भएको छैन, अन्य दलहरुसँग सहमति जुटे नाममा पनि ह्विप जारी गर्न सकिन्छ ।
कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले शनिबारबाट सुरु हुने प्रदेश स्थायी राजधानी र नामकरण सम्बन्धमा प्रस्ताव दर्ता प्रक्रिया सुरु हुने भएकाले अनुमतिविना हेटौँडा नछाड्न भनेका छन् । कांग्रेस संसदीय दलले मतदान प्रक्रियामा अनिवार्य सहभागी हुन निर्देशन गरेको खबर गोरखापत्र दैनिकमा छ ।
प्रदेशको स्थायी राजधानी र नामकरणबारे मुख्यमन्त्री निवासमा सर्वदलीय बैठक बसेको छ । बैठकमा प्रदेशको स्थायी राजधानीको लागि एउटा मात्र प्रस्ताव हेटौँडा र प्रदेशको एउटा मात्र नाम वागमती प्रस्ताव लैजाने बारेको छलफल भएको हो ।
छ्लफलमा नेकपाका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता डोरमणि पौडेल र उपनेता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपा संयुक्तका रीना गुरुङ, राप्रपाका रीता माझीले राजधानी हेटौंडा र नाम वागमतीमा सहमति गर्ने गरी छलफल गरेका छन् । नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइँले आफूहरु नकारात्मक नरहेको टिप्पणी गर्दै आधिकारिक निर्णय शनिबार दिने जानकारी दिए । यस्तै विवेकशील नेपाली र साझा विवेकशील पार्टीले आधिकारिक धारणा शनिबार सार्वजनिक गर्ने भएको छ ।
प्रदेश ३ को स्थायी राजधानी र प्रदेशको नामकरणका लागि शनिबार प्रस्ताव माग गरिने भएको छ ।
प्रदेश ३ को प्रदेश सभाको शुक्रबार बसेको बैठकमा प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्ताव शनिबार माग गर्ने जानकारी गराइएको हो । प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावमाथि मत विभाजनबाट निर्णय गर्ने गरी प्रदेश सभामा निर्णयार्थ आइतबार पेस गरिने भएको छ ।
प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्लामध्येबाट प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव दर्ता गर्ने गरी कार्य तालिका तय भएको प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति : 06:32







