सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छः मन्त्री अर्याल
२४ पुस, ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई आज (विहिबार) ललितपुरमा सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो ।
सहकारी अब विकासको दिशातर्फ जानुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशिलता, व्यवसायिकतामा जानुपर्ने बताउनुभयो । राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै उहाँले एक सहकारी एक रोजगारी अनिवार्य रुपमा लागु गरेर जानुपर्ने बताउनुभयो । सहकारी अभियानले सहकारीलाई रोजगारीको थलो बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले त्यसको एकमात्र बाटो भनेको उद्मशिलता भएको बताउनुभयो । सहकारी रोजगारीको थलो बनाउने अभियानमा लाग्नुपर्छ । वैदेशिक रोजगारीलाई विस्थापित गर्नेगरी सहकारी अभियान लाग्नुपर्छ । त्यसका निम्ती उद्मशलता र व्यवसायिकता होु, मन्त्री अर्यालले भन्नुभयो ।

सहकारीसँग पूँजी र जनशक्ति दुवै भएकाले उद्मशिलतामा जान सम्भव हुने उहाँको भनाइ थियो । त्यसबाट रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीमा जाने ठूलो संख्यालाई स्वदेशमै रोक्न सकिने उहाँको विश्वास छ । राज्यले सन् २०३० सम्ममा गरिबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै अहिले रहेको १८ प्रतिशत गरिबीको संख्या न्यूनीकरण गर्नका निम्ती पनि सहकारीले भूमिका खेल्नुपर्ने बताउनुभयो । ती गरिबी निवारणका कार्य स्थानीय तहबाट गर्नुपर्ने मन्त्री अर्यालको भनाई छ । स्थानीय स्तरमा आफ्नो ठाउँको पहिचान गरेर गरिबी निबारणका कार्यक्रम गर्न समेत मन्त्री अर्यालले सहकारीलाई आग्रह गर्नुभयो ।
सहकारीमा उद्मशिलता नारा बनाएर जान सुझाब दिँदै मन्त्री अर्यालले भूगोलमा काम शुरू गरिहाल्न आग्रह गर्नुभयो । राष्ट्रिय अर्थतन्त्र निमार्णमा सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले एउटा नतिजा दिनेगरी सहकारी अगाडी बढ्नुपर्ने बताउनुभयो । सहकारीले उद्मशिलताका क्षेत्रमा काम गर्नेक्रममा आइपर्ने विभिन्न कानुनी बाधाहरूलाई मन्त्रालयले सहजिकरण गर्दै आएको बताउनुभयो । सहकारीमैत्री कानुननिर्माण पहिलो शर्त भएको भन्दै मन्त्री अर्यालले सहकारी अभियन्ताहरूले दिएको सुझाबको मनन गरिने बताउनुभयो । मन्त्री अर्याल भन्नुहुन्छ, काम गर्न चाहदा हाखुट्टा बाँध्ने कानुन फ्याक्ने अभियानमा छौ । सहकारीमैत्री कानुन पहिलो शर्त हो । यसवर्ष सहकारीमैत्री कानुन बनाउने कुरा सम्पन्न गरौं ।

बचत तथा ऋण सहकारी संस्थाहरूको संख्या अत्यधिक बढी भएकोले संख्या बढी हुँदा प्रगतीमा बाधक हुने भएकोले सहकारीको संख्या कम गर्ने अभियान जानुपर्ने मन्त्री अर्यालले बताउनुभयो । अब संस्थाको संख्या बढाउनेतिर भन्दा कार्यक्षेत्र बिस्तार गर्ने अभियान लाग्नुपर्ने उहाँको भनाई थियो । भोलीको सम्भावित जोखिमको विश्लेषण आजै गरेर सचेत हुनुपर्ने भन्दै उहाँले त्यसलाई एक मर्जर गरेर कम बनाउने र दुई निष्क्रिय रहेका संस्थाको खारेजीमा जानुपर्ने बताउनुभयो । एउटा संस्थाहरूबीचमा मर्जर गरेर संख्या घटाउने र दोस्रो निष्क्रिय रहेका संस्थाहरू जसको लेखापरिक्षण नगर्ने, प्रतिवेदन नबुझाउने, साधारणसभा नगर्ने संस्थाहरू राखिराख्न पर्दैनु, मन्त्री अर्यालले भन्नुभयो यसरी संख्या घटाउन सकिन्छ । तपाइहरू आँट गर्नुस् , फाइलहरू खोज्नुस । सहकारी आन्दोलन जोगाउन ध्यान दिनुस । बिग्रनलाई धेरै संख्या चाहिदै चाहिदैन ।
अन्तर सहकारी समन्वयलाई पनि जोड्नुपर्ने भन्दै मन्त्री अर्यालले बचत तथा ऋण सहकारीको ब्याज गर्ने कुरामा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो । त्यसै अन्तर्गत सन्दर्भ ब्याजदर तोकिएको भन्दै उहाँले यस विषयमा अभियन्ताहरूले बृहत् छलफलको माग गरेको बताउनुभयो ।
एउटै संस्थामा एउटै व्यक्तिले वर्षौंवर्ष नेतृत्वमा रहिरहने कारणले पनि संस्था प्रगतिमा नजाने भन्दै उहाँले एउटै नेतृत्व रहिरहने कुरालाई निरुत्साहित गर्दै नेतृत्व हस्तान्तरणमा जानुपर्ने बताउनुभयो ।

समयसापेक्ष सहकारीलाई प्रविधिमैत्री बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले सहकारीलाई डिजिटलाइज्ड गर्ने कुरा लागु गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अब सहकारी सिस्टमबाट चलाउनुपर्ने भन्दै उहाँले अन्तर सहकारी चेक सटाइको व्यवस्था लागु गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले सहकारीलाई आकर्षणको क्षेत्र बनाउनुपर्ने बताउनुभयो । राज्यले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियान पुरा गर्न सहकारी महत्वपुर्ण क्षेत्र भएको भन्दै सचिव गौतमले गरिबीमुखी कार्यक्रम, योजना बनाएर अगाडी बढ्न जरुरी भएको बताउनुभयो ।
प्रकाशित मिति : 15:17









