गुल्मीको इस्मा गाउँपालिकामा गहना लुट्नकै लागि २ बुहारी मिलेर सासूको हत्या
२२ पुस, गुल्मी । २ बुहारी मिलेर गहना लुट्नकै लागि सासूको हत्या गरेकाे घटना बाहिर आएकाे छ । गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीमा २ जना बुहारी मिलेर आफ्नै ७६ वर्षीया सासू कौशीला बिकको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कौशीलाका २ बुहारीहरू देवी र लक्ष्मी मिलेर उनले लगाएका सुनका गहना लुट्नकै लागि हत्याकाे याेजना बनाएकाे खुल्न आएकाे बताएकाे छ ।

२ बुहारीहरूले गोरु फुकेको भन्दै पुस १७ गते कौशिलालाई गोठमा लगेर दाउराले हानेर बेहोस बनाइ नाक र कानमा लगाएका गहना लुटेपछि गोरुले हानेर सासू घाइते भएको भन्दै उनीहरुले छिमेकीलाई खबर गरेर उपचारको लागि गुल्मी अस्पताल पुर्याएका थिए । गम्भीर घाइते कौशीला उपचारकै क्रममा १९ गते मृत्यु भयो ।
प्रहरीले कौशीलाको टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेको जस्तो नदेखेपछि अनुसन्धान सुरु गरेको थियो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : January 7, 2020 at 1:43 pm









