२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

सुनको बिक्री ७५ प्रतिशतले घट्यो, सुन किन्नेभन्दा बिक्री गर्ने बढे

२१ पुस, काठमाडौँ । सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ । दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घका अध्यक्ष मोहनकुमार विश्वकर्माले जानकारी दिनुभयो ।

लगातार सुनको मूल्य वृद्धि भएसँगै सुन खरिद गर्नेभन्दा गहना बिक्री गर्ने बढेका छन् । राजधानीका चलेका सुन पसलमा नयाँ गहना खरिद गर्नेको सङ्ख्या अत्यन्त न्यून रहेको छ । सुनको भाउ घटेको समयमा गहना बनाएका सर्वसाधारणले मूल्य बढेको भन्दै गहना बिक्री गर्न थालेका छन् ।

पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो । “अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनावका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको हो”, महासङ्घका अध्यक्ष विश्वकर्माले भन्नुभयो, “महाशक्ति राष्ट्रबीचको बढ्दो तनावका कारण विश्वभरबाटै सुनमा लगानी हुन थालेको छ, व्यापार द्वन्द्वले सुनप्रति आकर्षण बढ्यो ।”

फाइल फाेटाे

साना तथा ठूला लगानीकर्ताले सुनमा गरिएको लगानीलाई सुरक्षित मान्न थालेको उहाँको भनाइ छ । चीन र अमेरिकाबीच हुने भनिएको वाणिज्य वार्ता निष्कर्षमा पुग्न नसक्दा पनि सुनको मूल्य वृद्धिमा सघाउ पुगेको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

इकोनोमिक्स टाइम्सले पनि पछिल्लो सात वर्षमा सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि भएको जनाएको छ । मध्यपूर्वी क्षेत्रमा देखिएको तनावका कारण सुरक्षित लगानी ठानिएको सुनमा अत्यधिक आकर्षण बढेको छ ।

विश्वबजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५७३.५० अमेरिकी डलर पुगेको छ । भारतीय बजारमा छापावाला सुनको मूल्य प्रति १० ग्राम ४० हजार १० भारु र तेजाबी सुन प्रति १० ग्राम ३८ हजार १०० भारु तोकिएको छ ।

नेपाली बजारमा पनि आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार निर्धारण गरेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७०० कायम गरेको छ । यस्तै चाँदीमा पनि मूल्यवृद्धि भएको छ । आइतबार प्रतितोला रु ९०० मा कारोबार भएको चाँदी आज प्रतितोला रु २० ले वृद्धि भएको छ ।

साताको पहिलो दिन आइतबार प्रतितोला रु एक हजारले वृद्धिभई छापावाला सुन रु ७५ हजार ५०० मा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ७५ हजार २०० कायम कारोबार भएको थियो ।

पुस महिनामा मात्रै स्थानीय बजारमा प्रतितोला रु चार हजार ५०० ले मूल्य वृद्धि भएको छ । यही पुस १ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५०० मा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० मा कारोबार भएको थियो । पुस १ गते प्रतितोला रु ८५० मा कारोबार भएको चाँदी आजको दिनमा आइपुग्दा रु ७० ले वृद्धि भएको छ ।

प्रकाशित मिति : January 6, 2020 at 3:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/