१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मध्यपूर्वमा जारी तनावप्रति आबेको गहिरो चिन्ता

२१ पुस, रासस/एएफपी । जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वमा जारी तनावले आफूलाई गहिरो चिन्ता पारेको बताउनु भएको छ ।वासिङ्टन र तेहरानबीचको सम्वन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रुपमा प्रयास गरिरहनु भएका आबेले सोमबार ‘गहिरो चिन्ता’ व्यक्त गर्नुभएको हो । इरानी सैन्य कमाण्डर कासिम सुलेमानी गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएपछि मध्यपूर्वमा तनावपूर्ण अवस्था सृजना भएको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खमेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ । “मध्यपूर्वमा तनाव बढीरहेको छ, मलाई यसले गहिरो चिन्तामा पारेको छ,” इरानी कमाण्डर सुलेमानी इराकमा मारिएपछिको पहिलो प्रतिक्रियामा आबेले भन्नुभयो ।

उहाँले तनाव न्युनिकरण गर्न आफ्नो तर्फबाट कुटनीतिक पहल गरिरहने पनि बताउनु भएको छ । टोकियो र तेहरानले वर्षौँदेखि कुटनीतिक सम्वन्धलाई सन्तुलित अवस्थामा राखेका छन् । तेहरानसँगको आणविक सम्झौता रद्ध गरेको निर्णय ट्रम्पले गत जुनमा गरेपछि आबेले इरानी सर्वोच्च नेता खामेनी र राष्ट्रपति हसन रोहानीलाई भेट्न इरानको भ्रमण गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार १५:०२