२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

मौसममा पुन: बदली : रुघाखोकीका बिरामी बढे,  बेलुकीदेखि देशैभर पानी पर्ने सम्भावना

२१ पुस, काठमाडौं । पश्चिमी वायु सक्रिय हुँदा नेपालमा पुन: हिउँदे वर्षा गराउने हावा प्रवेश गरेको छ । पश्चिम क्षेत्रबाट प्रवेश गरेको यो हावाले देशभर वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पार्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

आज (सोमबार) दिउँसोदेखि नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव भोलि (मंगलबार) थप बढेर पश्चिम, मध्य र पूर्वी हिमाली भेकमा वर्षा हुने तथा उच्च पहाडी भेकमा हिमपात हुनेछ ।

यतिखेर भने देशका पश्चिमी र पूर्वी पहाडी भूभागमा मौसममा आंशिक बदली मात्र रहेको र बाँकी क्षेत्रको मौसम सामान्यत: सफा छ । सोमबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस कायम भएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको हिमपातले चिसो बढेसँगै वस्तुभाउ स्याहार्न समस्या भएको छ । गोठमा गाईभैँसी र भेँडापाठा चराउन पुगेका स्थानीय कृषकलाई सामान पुर्‍याउन झनै समस्या भएको छ । सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुसी भएका छन् ।

हिमपात भएपछि विभिन्न रोगकिरासमेत नष्ट भएर जाने कृषकहरुको भनाइ छ । चिसोबाट बच्न महाशाखाले सर्वसाधारणमा अपिलसमेत गरेको छ । चिसोबाट विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । हिमपात र अत्यधिक चिसोले उच्च पहाडी तथा हिमाली क्षेत्रका विद्यालयहरु पनि बन्द भएका छन् ।

चिसोले तराई क्षेत्रका सडकमा सवारीसाधन पनि कम चलेका छन् । अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्किएका छैनन् । चिसोजन्य मौसमी रुघाखोकी र ज्वरोका बिरामी पनि बढेका छन् । अत्यधिक चिसो बढेका कारण ठाउँ-ठाउँमा आगो तापेर बस्नेहरुको झुन्ड देख्न सकिन्छ ।

प्रकाशित मिति : January 6, 2020 at 8:07 am