पक्राउ परेका चिनियाँको राहदानी रद्द !
२१ पुस, काठमाडौं । चिनियाँ दूतावासले १ सय २२ चिनियाँको राहदानी रद्द गर्ने भएको छ । प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरू काठमाडौंबाट पक्राउ परेका थिए । उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारी दूतावासले गरेको हो ।
‘व्यक्ति छन्, राहदानी छैन । राहदानी छ, व्यक्ति फरार छन्’, एक प्रहरी अधिकारीले भने । प्रहरीका अनुसार ९६ जनाको राहदानी छैन । बाँकी २६ जनाको राहदानी प्रहरीसँग छ । राहदानी हराए दूतावासले नयाँ उपलब्ध गराउँदै आएको थियो । राहदानीबेगर पक्राउ परेकालाई ट्राभल डकुमेन्टका आधारमा चीन फर्काउने तयारी रहेको खबर अन्नपूर्ण पोस्टमा छ । त्यसका लागि दूतावासले प्रहरीसँग समन्वय गरिरहेको छ । ट्राभल डकुमेन्टमा भिसा नियमित गरी पक्राउ परेका सबैलाई बुधबार चीन फर्काइनेछ ।
बुधबार बिहान र बेलुका दुई सिफ्टमा चीनबाट दुईवटा जहाज काठमाडौं आउनेछन् । चीन सरकारले काठमाडौंमा पक्राउ परेका आफ्ना नागरिकलाई बुधबार (८ जनवरी) दुई चार्टर विमानबाट फिर्ता लैजाने भएको हो । त्यसका लागि चीनले चाइना साउदर्न र चाइना वेस्टर्न नामका दुई विमान नेपाल पठाउन लागेको छ । एउटामा ८० र अर्कोमा ४२ जना लगिने भएको छ । ती जहाज अवतरण गराउन दूतावासले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ ।

प्रहरीले हिरासतमा रहेका चिनियाँको कागजपत्र बुझाएपछि अध्यागमन विभागले निष्काशन प्रक्रिया थाल्नेछ । विभागका महानिर्देशक ईश्वरराज पौडेलले पक्राउ परेका शंकास्पद सबै चिनियाँलाई निष्काशन गरिने बताए । ‘उनीहरू सबैले व्यापारिक र पर्यटक भिसा दुरुपयोग गरेका छन् । सोहीबमोजिम कारबाही गरी निष्काशन गर्छौं’, महानिर्देशक पौडेलले भने, ‘पक्राउ परेकामध्ये एक जनासँग मात्रै व्यापारिक भिसा छ । बाँकी सबैको पर्यटक भिसा छ ।’
प्रकाशित मिति : January 6, 2020 at 7:28 am







