नेपाल ट्रस्टको सम्पत्तिबारे छिट्टै श्वेतपत्र : उपप्रधानमन्त्री पोखरेल
२१ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिले गोकर्ण रिसोर्टलगायत नेपाल ट्रस्टबारे जे-जति जिज्ञासा उठेका छन्, तिनबारे छिट्टै श्वेतपत्र जारी गरिने बताएका छन् । गोरखापत्रसँगको कुराकानीमा नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले भने, “यो लुकाउने विषय होइन । पूर्वमा धनकुटादेखि पश्चिम सुर्खेतसम्म पूर्वराजपरिवारको कति जग्गा छ ? पैसा, सेयर कति छ ? सबै जानकारी गराउनेछौँ ।” उनले नेपाल ट्रस्टअन्तर्गत आएका त्यस्ता जग्गा र सम्पत्तिको उपयोगबारे कानुनी प्रबन्ध के छ, लिज (भाडा)को विषय के हो, सबै ऐनाजस्तै छर्लंग पारिने बताए ।
अहिले गोकर्ण रिसोर्ट र राजदरबारको जग्गा भाडामा दिइएको विषयमा जुन जिज्ञासा छ, त्यसमा पारदर्शी र कानुनसम्मत ढङ्गले काम भएको पोखरेलको दाबी छ । सरकारले राष्ट्रिय स्वार्थमा केन्द्रित भएर काम गरिरहेको र देशलाई अहित हुने कुनै काम नगर्ने उनले प्रस्ट्याए । “मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) आयोजनालाई सरकारले मान्यता दिनुमा राष्ट्रिय स्वार्थ निहित छ”, उनले भने ।

प्रकाशित मिति : 07:12







