देशभरका खरका छाना सरकारले विस्थापित गर्छः मन्त्री अर्याल
२० पुस, स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताउनुभएको छ । खरको छाना विस्थापित गर्ने अभियान अन्तर्गत स्याङ्जाको वालिङमा खरका छाना भएका जनताहरूलाई चेक हस्तान्तरण गर्दै मन्त्री अर्यालले सरकारको प्रमुख मुद्दा गरिबी निवारण भएको बताउनुभएको हो । मन्त्री अर्यालले भन्नुभयो, सरकार सन् २०३० सम्म नेपालमा गरिबी निर्मुल पार्ने अभियानमा लागेको छ ।

त्यसैको शुरुआत सुरक्षित जनता आवासका लागि पहिलो किस्ताका ३० हजारको चेक हस्तान्तरण गरेका हौं । जनताको जीवनको सुरक्षाका लागि सरकारले उक्त कार्यक्रम ल्याएको भन्दै मन्त्री अर्यालको नेपालमा १८ प्रतिशत गरिबी रहेको र त्यसको निर्मुल पारिने बताउनुभयो ।
खरका छानामा छिटो आगलागी हुने भन्दै यस आर्थिक वर्षमा दुई सय ५० घरपरिवारका खरका छाना विस्थापित गर्ने मन्त्री अर्यालले बताउनुभयो ।
स्याङ्जाको वालिङ, गल्याङ, चापाकोट, भिरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका गरी पाँचवटा पालिकाका दुई सय ५० खरका छाना हटाइने मन्त्री अर्यालले बताउनुभयो । स्याङ्जा क्षेत्र नम्बर २ का पाँच पालिकामा यसवर्ष दुई सय ५० घरपरिवारलाई ५० हजारका दरले दुई किस्ता गरी रकम दिइनेछ । बाँकी रहेका खरका छानाको लगत संकलन गरी पुन यसरी नै खरका छाना हटाइनेछ । मन्त्री अर्यालले आफ्नो निर्वाचन क्षेत्रमा यस वर्ष दुई सय ५० घरपरिवारमा टिनका छाना लगाउने अभियानको थालनी गर्नुभएको हो ।
प्रकाशित मिति : 18:59









