नेपाल प्रहरीले अपराधि भनेर पक्राउ गरेका १२२ चिनियाँ नागरिक एक हजार जरिवाना तिरेर छुटे
२० पुस, काठमाडाैँ । नेपाल प्रहरीले अपराधि भनेर पक्राउ गरेका १२२ चिनियाँ नागरिक एक हजार जरिवाना तिरेर छुटेका छन । जिल्ला प्रशासनका कार्यालय काठमाडाैँले अाइतबार उनीहरूविरूद्धको मुद्दामा अन्तिम सुनुवाइ गर्दै अभद्र व्यवहार गरेको अभियोगमा एक हजार जरिवाना तिराएर छाडेको हो । चिनियाँ नागरिकहरूको तर्फबाट बहस गरेका अधिवक्ता बसन्त बस्नेतले दैनिकीसँग कुरा गर्दै १२२ जना चिनियाँ नागरिक प्रतिव्यक्ति एक हजार रूपैयाँ जरिवाना तिरेर छुटेको जानकारी दिए ।

उक्त मुद्दामा अर्का अधिवक्ता हर्कजित लामाले चिनियाँ नागरिकको तर्फबाट बहस गरेका थिए । अब अध्यागमन कसुर अनुसारको कारबाही प्रक्रियामा लैजाने तयारी प्रहरीले गरिरहेको छ। प्रहरीले काठमाडौँका मनमैंजु, बाँसबारी र बुढानिलकण्ठबाट पक्राउ परेका चिनियाँ नागरिकमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान सकेर मुद्दा सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडाैँमा बुझाएको थियो। उनीहरुलाई प्रहरीले यही पुस ७ गते पक्राउ गरेको थियो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट संयुक्त अपरेशन चलाएको थियो । त्यसक्रममा चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेको, आइटी, होटल लगायतका क्षेत्रमा काम गर्ने गरेको बताइएको छ ।
प्रकाशित मिति : January 5, 2020 at 6:14 pm









