२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

झरीमै कृषिमन्त्री केसी कृषकको दैलामा (फाेटाेफिचर)

–शुरबहादुर सिंह

२० पुस, सुर्खेत । अविरल पानी परिरहेको थियो । हुस्सुले बिहान खुलेकै थिएन । गाडीबाट अगाडिको दृश्य हेर्न चालकलाई पटक पटक ‘वाइपर’ को सहायता लिनुपथ्र्यो । कच्ची र हिलाम्मे आवतजावतको कल्पना नगरिएको बाटाबाट आज बिहान कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी कृषककै दैलामा पुगेपछि सुर्खेत लेकबेंसी नगरपालिका–१० साटाखानीका बासिन्दा दङ्ग परे ।

सरकारका प्रवक्ता एवं मन्त्री कर्णाली प्रदेशसभामा नेकपाका सचेतक सीताकुमारी नेपाली, युवा नेत्री हरिमाया शर्मासहित साटाखानीमा पुग्नुभएको थियो । प्रमुख सचेतकसँग कृषिमन्त्री ल्याउन पटक पटक गुहारेका किसानलाई त्यस्तो झरीमा सरकारका मान्छे दैलोमा आउलान् भन्ने पत्यार लागेको थिएन ।

हिमाली जिल्लामा भारी हिमपातसँगै शुक्रबारदेखि मुलुकभरको वर्षाले हवाई तथा स्थलगत यातायात प्रभावित थियो । खराब मौसम भए पनि मन्त्री नै घरदैलामा पुगेपछि स्थानीयवासी निकै खुशी बने र एकैछिन सबै भेला भएर पहिलो पटक दैलामै पुगेका कृषिमन्त्रीलाई स्वागत गरे ।

मन्त्री केसीले शुरुमा देवकी बरालको गायत्री कृषि फार्म अवलोकन गर्नुभयो । विसं २०६८ मा स्थापितसो फार्मको लगानी रु.४३ लाख रहेको व्यवस्थापक दीपेन्द्र चपार्इँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला कृषि विकास कार्यालय सुर्खेतबाट वार्षिक छ प्रतिशत ब्याजका दरले रु १८ लाख र एउटा अर्को संस्थाको रु पाँच लाख ऋण छ । फार्ममा बाँकी आफ्नै लगानी गरेको छु ।”

होलिस्टिन जातका १४ गाई रहेको उक्त फार्म देखेर मन्त्री केसीले सञ्चालक बराल र व्यवस्थापक चपाइँको उच्च प्रशंसा गर्नुभयो । मन्त्री केसीले भन्नुभयो, “निकै राम्रो मेहनत गर्नुभएको रहेछ । तपार्इँ एउटा उदाहरणीय कृषक हो । तपाई ँजस्ता व्यावसायिक किसानलाई सरकारले प्रोत्साहन र आवश्यक सहयोग गर्छ ।”

झरीमा मन्त्री केसीले पशुपालक कृषक ताराकेशर लामिछानेको गाई र भैंसीपालन व्यवसायको पनि निरीक्षण गर्नुभयो । उक्त क्षेत्रका गोठगोठमा पुगेर उहाँले पशुपालनको व्यवस्थापन, समस्या र चुनौतीको अवस्था नियाल्नुभयो । तरकारी बाली र पशुपालनको सम्भाव्य क्षेत्रको स्थलगत भ्रमण गर्नुभएका उहाँले त्यसलाई तरकारी र दूध उत्पादन क्षेत्रका रुपमा विकास गर्दै लैजाने विश्वास दिलाउनुभयो । त्यस क्रममा उहाँले लेकबेंसी नगरपालिका–१० का साटाखानी, साटाफाँट र दुबीचौर बस्ती अवलोकन गर्नुभएको थियो ।

दूधको बजारीकरण समस्या

गायत्री कृषि फार्मका व्यवस्थापक चपार्इँले लेकबेंसी नगरपालिकाका ८, ९ र १० वडामा पर्ने साटाखानी दूध क्षेत्र भएको जानकारी दिनुभयो । “प्रतिदिन एक हजार लिटरभन्दा बढी दूध यहाँ उत्पादन हुन्छ तर बाटो र बजारीकरणको सहज नहुँदा किसान मर्कामा छन्,” व्यवस्थापक चपार्इँले भन्नुभयो ।

सोही वडाका पशुपालक कृषक ताराकेशर लामिछानेसमेतले दूध उत्पादनभन्दा बजारीकरणमा समस्या भएको बताउनुभयो । “पशुपालन व्यवसायबाट उत्पादित दूध र कृषि उपजका वस्तु खपत नहुने हो भने कसरी व्यवसाय गर्ने होला”, चिन्ता प्रकट गर्दै लामिछानेले भन्नुभयो, “बाटो र बजारीकरण नहुनु हाम्रो प्रमुख समस्या हो । यसमा हामीलाई सरकारको सहयोग आवश्यक छ ।”

उहाँका अनुसार बजार अभावले यहाँका पशुपालक किसानले रु४८–५० मा दूध बेच्नुपर्ने बाध्यता छ । सिर्जनशील सामुदायिक अपाङ्ग कृषि तथा पशुपालन सहकारी लिमिटेडका सदस्य जानकी पुन मगरले कृषिजन्य वस्तुको उत्पादनका लागि सिँचाइको समस्या भएको बताउनुभयो । कृषिमन्त्री केसीले सिँचाइ व्यवस्थाका निम्ति कृषि क्षेत्र विकास कार्यक्रममार्फत सहयोग गरिने जनाउनुभयो ।

दूध बजारीकरणका लागि किसानलाई चिन्ता नगर्न उहाँले आग्रह गर्नुभयो । “वीरेन्द्रनगर नगरपालिकास्थित औद्योगिक क्षेत्रमा निर्मित डेरी उद्योगले तपार्इँको दूध खपत गर्ने वातावरण बनाउँछु”, मन्त्री केसीले भन्नुभयो, “सरकार अर्गानिक प्रदेश निर्माण अभियानमा सफल बनाउने व्यावसायिक कृषकलाई लगानी गर्छ ।” हाल उक्त बस्तीमा रहेका ७२ घरधुरीले होलिस्टन जातका एक सयभन्दा बढी गाईपालन गरिरहेका छन् । पच्चीस–३० बिघा क्षेत्रफलको जमीन रहेको साटाखानी बस्तीका समुदायले दूधबाटै वार्षिक रु एक करोड ८० लाख भित्र््याउने गरेको पाइएको छ ।

 

प्रकाशित मिति : January 5, 2020 at 6:08 pm