महाभारत गाउँपालिकाले वडा कार्यालयको भवन निर्माणमा तीव्रता दिँदै
२० बनेपा । जिल्लाको विकट क्षेत्र डाँडापारिको महाभारत गाउँपालिकाको वडामा वडा कार्यालयको भवन निर्माणको काम तीव्ररूपमा अगाडि बढिरहेको छ । वडा कार्यालयको अभावमा व्यक्तिको कच्ची घर भाडामा लिएर र टहरा बनाएर जसोतसो कार्यालय सञ्चालन गर्दै आएको सो गाउँपालिकाले सबै वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिइएको हो । प्रदेश सरकार, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र स्वयं गाउँपालिकाबाट गरी आठ वडाको भवन निर्माणका क्रममा रहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।

उहाँका अनुसार वडा नं ५, ७, २ र ३ को प्रदेश सरकारको सहयोगमा निर्माणकार्य भइरहेको छ भने बाँकी वडा १, ४, ६, र ८ को जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र गाउँपालिका स्वयंको आर्थिक सहयोगमा निर्माणको चरणमा रहेको जनाएको छ । “प्रदेश सरकारको विशेष अनुदानबाट अहिले चार वटा वडा भवन निर्माणको काम भइरहेको छ ।” अध्यक्ष जिम्बाले भन्नुभयो, “बाँकी चार वडा कार्यालय भवनका लागि ठेक्का आह्वान भइसकेको छ, अब छिट्टै प्रक्रियामा गएर काम अगाडि बढाउँछौँ ।”
वडाको आवश्यक महत्वपूर्ण कागजात सुरक्षित राख्न समस्या भएको र सेवाग्राहीलाई सहज किसिमले सेवा दिनमा कठिनाइ झेल्नुपरेका वडा कार्यालयले जनाएका छन् । वडा कार्यालयको भवन नहुँदा सेवाग्राहीलाई सेवा दिनमा कठिनाइ झेल्नुपरेको वडा नं ५ का वडाध्यक्ष रविन मोक्तानले बताउनुभयो । “वडाध्यक्ष निर्वाचित भएर आएपछि काम गर्न कार्यालय नै थिएन”, उहाँले भन्नुभयो, “पछि गाउँकै ग्रामोन्नती माध्यमिक विद्यालयसँग कुरा गरी विद्यालयको जीर्ण भवनलाई वडाले नै मर्मत गरी त्यसैमा कार्यालय सञ्चालन गर्दै आएका छौँ ।”
एक तलाको चारकोठे ती भवन करीब रु ४४ लाख लागतमा निर्माणकार्य सम्पन्न हुनेछ । सो गाउँपालिकाभित्रको सबैभन्दा पहिलो भवन निर्माण सम्पन्न गर्ने वडा नं ५ बन्ने भएको छ । अरु बाँकी वडा ७, २ र ३ को पनि निर्माणको काम अगाडि बढिसकेको छ । जिल्ला समन्वय समिति र गाउँपालिकाको आर्थिक सहयोगमा बन्ने भवन भने करीब रु ८३ लाख लागतको हुने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : January 5, 2020 at 10:38 am









