१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

राष्ट्रियसभा सदस्य चुनाव : मनोनयपत्र दर्ता अहिले १० देखि अपराह्न ३ बजेसम्म

२० पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने चुनावका लागि आज (आइतबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । निर्वाचन आयोगकाअनुसार अहिले बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।

यसका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ । उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको फोटोकपी,  धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

महिला, दलित वा अल्पंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । अरुका लागि धरौटी बापत १० हजार रुपैयाँ लाग्ने आयोगले जनाएको छ ।

मनोनयनको औपचारिक पत्र, दलित, अल्पसंख्यक वा अपांगता भएका समूहबाट निर्वाचित हुने पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको प्रमाणित हुने निस्सा पेस गर्नुपर्नेछ ।

प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचनमण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ अर्थात् १९ सदस्यको पदावधि फागुन २० गते सकिँदै छ । त्यसमध्ये १८ जना निर्वाचनबाट चयन हुनेछन् भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

राष्ट्रियसभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि २ वर्ष, अर्को एकतिहाइको ४ वर्ष र बाँकी एकतिहाइको ६ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो ।

यी हुन् २ वर्षे कार्यकाल पूरा गर्ने राष्ट्रियसभा सदस्य
राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसार्इं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बास्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् । यी सबैको आगामी फागुन २० गते कार्यकाल सकिनेछ ।

फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेकपाका ९, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक सदस्य छन् ।

राजपाका दुई वरिष्ठ उपाध्यक्ष उम्मेदवार बने
राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । उसले प्रदेश दुईबाट दुईजना उम्मेदवारको नाम टुंगो लगाएको हो ।

राजपा नेपालका अध्यक्ष मण्डलको शनिबार बसेको बैठकले अन्य समूहबाट मृगेन्द्रसिंह यादवलाई उम्मेदवार बनाएको छ । त्यसैगरी, शेखरकुमार सिंहलाई अल्पसंख्यक-अपांगता भएका व्यक्तिको समूहबाट उम्मेदवार घोषणा गरेको हो । दुवै सप्तरीका हुन् । यादव र सिंह दुवै राजपा नेपालका वरिष्ठ उपाध्यक्ष हुन् ।

प्रकाशित मिति : 06:00