२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

वर्षा र हिमपातको सम्भावना : मौसममा सुधार कहिले ?

१९ पुस, काठमाडौं देशभर बदली रही देशका उच्च हिमाली भेकमा शनिबार पनि हिमपात भइरहेकै छ । जुम्ला, मनाङ,  मुस्ताङ,  दार्चुला,  डडेल्धुरालगायत उच्च हिमाली भेकमा शुक्रबार दिउँसो तथा राति भारी हिमपात भएको छ । यो क्रम अझै पनि जारी छ ।

उपत्यका लगायतका जिल्लामा शुक्रबार रातिसम्म र शनिबार बिहान पनि वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पहाडी तथा तराई भूभागमा दिनभर मौसममा बदली हुने तथा पानी पर्ने सम्भावना छ ।

बिहानैदेखि सुरु भएको भारी हिमपातपछि डोल्पाको ठूलिभेरी नगरपालिकाअन्तर्गत पर्ने लक्ष्मी माध्यामिक विद्यालय थरगाउँ । विद्यालयमै बाग्लो हिँउ जमेर अत्याधिक चिसो बढेपछि यस विद्यालयलगायत नगरपालिका भित्र पर्ने पाँचवटा आधारभूत र माध्यामिक विद्यालयको नेपाली बिषयको बार्षिक परीक्षा स्थगित भएको छ । अहिले पनि हिमपात जारी रहेको छ । तस्वीरः रामचन्द्र न्यौपाने,रासस

शनिबार दिउँसोबाट भने मौसम सुधार आउने महाशाखाले जनाएको छ । हिमपातसहित पानी परे पनि न्यूनतम तापक्रममा भने खासै गिरावट आएको छैन ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको हिमपातले चिसो बढेसँगै वस्तुभाउ स्याहारमा पनि समस्या भएको छ । गोठमा गाईभैँसी र भेँडापाठा चराउन पुगेका स्थानीय कृषकलाई सामान पुर्‍याउन झनै समस्या भएको छ । सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुसी भएका छन् ।

हिमपात भएपछि विभिन्न रोगकिरासमेत नष्ट भएर जाने कृषकहरुको भनाइ छ । चिसोबाट बच्न महाशाखाले सर्वसाधारणमा अपिलसमेत गरेको छ । चिसोबाट विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । हिमपात र अत्यधिक चिसोले विद्यालयहरु पनि बन्द भएका छन् ।

महाशाखाको तीनदिने मौसमी पूर्वानुमान यस्तो :
आज (शनिबार)
दिउँसो र राति :
देशका मध्य तथा पुर्वी भागलगायत पश्चिमी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका क्षेत्रमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भागमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने साथै पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

भोलि (आइतबार)
दिउँसो र राति : देशका पूर्वी भागलगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा सामान्यत: मौसम सफा रहनेछ ।

पर्सि (सोमबार)
दिउँसो : देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै मध्य तथा पूर्वी भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशको पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य तथा पूर्वी भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । पश्चिमी पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : January 4, 2020 at 9:01 am