२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

भारी हिमपात र वर्षाको सम्भावना, ‘सतर्कता अपनाऔं’

१८ पुस, काठमाडौं जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले नेपालमा अहिले पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो ।

हाल देशभर सामान्य बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाले मौसम बदलीसँगै वर्षा/हिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ ।

यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । माइनसमा पुग्ने सम्भावना भने छैन । महाशाखाका अनुसार तराईका जिल्लामा पनि चिसो बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दै गएको छ । बिहानको समयमा तराईमा हुस्सु/कुहिरो लाग्ने र हिमपात पर्ने स्थानमा चिसोको असर पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकात्मक तस्बिर ।

चिसोले तराई क्षेत्रका सडकमा सवारीसाधन पनि कम चलेका छन् । अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्किएका छैनन् । चिसोजन्य मौसमी रुघाखोकी र ज्वरोका बिरामी पनि बढेका छन् । अत्यधिक चिसो बढेका कारण ठाउँ-ठाउँमा आगो तापेर बस्नेहरुको झुन्ड देख्न सकिन्छ । चिसोले विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन् ।

तीन दिनको मौसमी पूर्वानुमान यस्तो :
आज (शुक्रबार)

दिउँसो र राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि (शनिबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

राति : देशभर आंशिकदेखि सामान्य सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपात र पहाडका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पर्सि (आइतबार)
दिउँसो र राति : देशभर आंशिकदेखि सामान्य सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानमा हल्का हिमपात र पहाडका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : January 3, 2020 at 8:25 am