घर न जमिन, जीवनभर पालमुनिकै बास !
१८ पुस, बाजुरा । जिल्लाका अधिकांश बादी परिवारका लागि घरवासको व्यवस्था नहुँदा जीवन भर पालमुनि बस्न बाध्य छन् । घुमन्ते जीवन अँगाल्दै आएका गन्धर्वहरुको जमिन नहुँदा उनीहरुले स्थायी रुपमा घर बनाउन नसकेपछि अहिलेसम्म बाजुराका अधिकांश बादी परिवार पालमुनि बस्न बाध्य भएका हुन् ।

जिल्लाको बुढीगङ्गा, बुढीनन्दा नगरपालिका र गौमुल, हिमाली गाउँपालिकाका अधिकांश ठाउँमा पहिलादेखि बस्दै आएका बादी परिवारको नाममा जमिन नभएकोले उनीहरुले अहिलेसम्ममा पनि घरबारको व्यवस्था गर्न नसेपछि जीवनभर पालमुनि बस्न बाध्य भएको खबर गोरखापत्र दैनिकमा छ ।
जिल्लामा स्थानीय सरकार आएसँगै महिला दलित बालबालिकामा केही परिवर्तन आए पनि गन्धर्व परिवारको भने सामाजिक, आर्थिक रुपमा कुनै परिवर्तन नभएको बुढीगङ्गा नगरपालिका ७ मा बस्दै आएका चन्द्र बादीले बताए ।
समय पर्खदै दिन गयो, दिन गन्दै महिना आयो, महिना गन्दै वर्ष आयो, पञ्चायतपछि प्रजातन्त्र आयो, प्रजातन्त्रपछि, लोकलन्त्र गणतन्त्र आयो, यो सँगै देशमा पनि परिवर्तन आयो तर जिल्लाका विभिन्न ठाउँमा बस्दै आएका बादी परिवारको जीवनमा भने परिवर्तन ल्याउनका लागि कोही सरकार नआएको बडिमालिका नगरपालिमा १ जुगाडामा पालमुनि बस्दै आएका जोगगिरी बादीले बताए ।
उनले भने, ‘हुक्का, सुल्पा बनाएर गाउँमा गाउँमा लगेर बेच्ने र तिहारको बेलामा सारङ्गी मादल बजाउँदै गाउँ गाउँमा माग्दै आफ्नो जीवन जीउन सहज हुन्थ्यो अहिले यो पेसा पनि लोप हुँदै गएकोले अन्य व्यवसाय गर्न समस्या भयो ।’
जिल्लाका विभिन्न ठाउँमा बस्दै आएका गन्धर्व परिवारले विभिन्न ठाउँमा सुल्पा दिँदै अन्न माग्दै जाने चलन पनि विस्तारै हराउँदै जाँदा उनीहरु चिन्तित छन् ।
प्रकाशित मिति : January 3, 2020 at 7:30 am







