१४ जेष्ठ २०८१, सोमबार | Mon May 27 2024

भैरहवामा सीधा उडान, म्यानमार सकारात्मक


१८ पुस, भैरहवा । म्यानमारका पर्यटनमन्त्री अन मोङले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई उडानका लागि आफ्नो सरकार सकारात्मक रहेको बताएका छन् । लुम्बिनी भ्रमणका लागि आएका मन्त्री मोङले म्यान्मारको सरकार र त्यहाँका एयरलाइन्स गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि सीधा हवाई उडान गर्न तयार रहेको बताए ।

लुम्बिनीमा श्रीलङ्कापछि सबैभन्दा बढी पर्यटक म्यानमार र थाइल्यान्डका आउने गर्छन् । लुम्बिनीसँग म्यानमार सरकारको प्रगाढ माया र स्नेह रहेको उल्लेख गर्दै मन्त्री मोङले सीधा उडानका लागि आफ्नो देश तयार रहेको बताए । मन्त्री मोङसहितको टोलीलाई प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरी, लुम्बिनी विकास कोषका सदस्य सचिव सरोज भट्टराईलगायतले भैरहवा विमानस्थलमा स्वागत गरेको खबर गोरखापत्र दैनिकमा छ ।

विमानस्थलमा ओर्लेर सोझै बुद्ध जन्मस्थल लुम्बिनी पुगेका उनले मायादेवी मन्दिर दर्शन गर्नुका साथै विश्व शान्ति दीप, म्यानमार सरकारद्वारा निर्माण गरिएको मन्दिरलगायत क्षेत्रको अवलोकन गरेका थिए ।

म्यानमारका पर्यटनमन्त्री मोङसँग भुटान सरकारको पर्यटन महाशाखाका प्रमुख र कम्बोडियाका पर्यटन महाशाखा प्रमुख पनि सहभागी थिए ।

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार ०७:१२