वर्षासँगै ठाउँठाउँमा हिमपात
१८ पुस, काठमाडौं । देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघिको हिउँदे वर्षासँगैको हिमपातले बढ्दै गएको चिसो आउँदो एक हप्ता उच्च दरमा रहने अनुमान महाशाखाले गरेको छ । मौसमविद् गङ्गा नगरकोटीले भने, “अहिले नेपाल प्रवेश गरेको पश्चिमी वायुले यो वर्षा गराएको हो, बिहीबार दिउँसैदेखि पहाडी भेगमा वर्षा भइरहेको छ ।” काठमाडौँ लगायतका स्थानमा भने अपराह्नदेखि मेघगर्जनसहित हल्का वर्षा भएको छ । बिहीबार काठमाडौँ उपत्यकामा हल्का पानी पर्ने र केही बेर घाम लाग्ने क्रम पनि जारी रह्यो ।
नगरकोटीका अनुसार वर्षाले उपत्यकाको चिसो बढाउनुका साथै वरिपरिका पहाडमा हिमपात गराउने सम्भावना छ । हिमपातको विशेष असर भने प्रदेश ६ र ७ को उच्च हिमाली भेकमा बढी परेको खबर गोरखापत्र दैनिकमा छ ।
अधिकांश पहाडी भेगमा पानी पर्ने भएकाले वायुको सापेक्षित आद्रतामा चिस्यान बढ्दा जाडोले जनजीवन प्रभावित हुने नगरकोटीले बताए । यसअघिको वर्षाले न्यूनतम तापक्रम घट्ने क्रममा असर पुर्याएको थियो । जसका कारण काठमाडौँको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियससम्म पुगेको थियो । यसपटकको वर्षाले भने अधिकतम तापक्रम घटाएर जाडो बढाउने नगरकोटीले बताए ।
पश्चिमी वायुको उच्च प्रभाव
भूमध्य सागरबाट उठेको जलवाष्पलाई पश्चिमी वायुले नेपाल भित्र्याएको हो । भूमध्य सागरसँगै जम्मुकश्मीर क्षेत्रबाट समेत पश्चिमी वायुले वर्षाको न्यूनचापीय कण बोकेर आइरहेको छ । हिउँदमा हुने पश्चिमी वायुको असरले परेको पानी पूर्वी नेपाल हुँदै सकिन्छ । मनसुनमा भित्रिने दक्षिण र पूर्वी वायुले भित्र्याउने वर्षा भने पश्चिम नेपाल हुँदै अन्त्य हुने गर्छ ।
यसपटकको पश्चिमी वायुको असर झन्डै एक साता कायम रहने महाशाखाले जनाएको छ । हालको पश्चिमी वायुसहितको बलियो न्यूनचापीय प्रणाली नेपालमा सक्रिय रहेकै बेला भूमध्य सागरमा उत्पन्न भएको अर्को न्यूनचापीय प्रणाली नेपालतिर आउँदै गरेको छ ।
प्रकाशित मिति : January 3, 2020 at 6:40 am







