३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

नख्खु कारागारमा रहेका ३९३ कैदीबन्दीहरुमा मानसिक रोग

१७ पुस, ललितपुर । ललितपुरको नख्खु कारागारमा रहेका ३९३ जना कैदीबन्दीहरु मानसिक रोगका बिरामी रहेका छन् । समाजमा विभिन्न कसुर गरेवापत जेलजीवन भोग्न बाध्य भएका कूल एक हजार ५४७ कैदीबन्दीमध्ये ३९३ जना मानसिक रोगको बिरामी रहेका कारागारले जानकारी दिएको छ । लामो समय कारागारमा रहँदै जादा उनीहरुको मनोविज्ञान बिग्रेर यी कैदीबन्दीहरु मानसिक रोगको सिकार हुन पुगेका कारागारका सूचना अधिकारी डा नरेन्द्र परियारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कारागारमा यस रोग लागेका बडी मात्राको औषधि सेवन गर्ने कूल १३० र सामान्य खालको औषधि सेवन गर्ने २६३ गरी कूल ३९३ जना यस्ता बिरामी रहेका छन् ।”उहाँका अनुसार कारागार परिसरमा भर्खरै मानसिक रोगका बिरामीको लागि १५ शै्याको ‘मनोसामाजिक अपाङ्ग वञ्जी अस्पताल’ को शुरुआत गरी यसैमा सो कैदीबन्दीलाई प्राथमिक तहको उपचार दिन शुरु गरिएको छ । कारागारभित्र भर्खरै स्थापना गरिएको नयाँ अस्पताल सञ्चालन गर्दा चिकित्सहरुको दरबन्दी थपिने क्रममा रहेको परियारले बताउनुभयो ।

कारागारमा बढी मात्राको औषधि सेवन गरिरहेका यस्ता बिरामीलाई आवश्यक परेको खण्डमा कारागारका प्रतिनिधिले बढी मात्रामा पाटन अस्पताल जचाउन ल्याउने गरेका मानसिक अस्पताल पाटनका सूचना अधिकारी डा अनन्तप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानसिक रोगका बिरामीलाई समाजमा बढी मात्रमा माया, ममता, स्नेह र परिवारको साथ आवश्यक पर्ने भएको हुँदा यस्तो किसिमका वातावरण पुर्याउन हामीले कारागारका पदाधिकारीलाई आग्रह गर्ने गरेका छाैँ ।”

बिरामीको अवस्था हेरी पाटनले उनीहरुलाई एक हप्तासम्म अस्पताल राखेर जाँच गर्ने गरेको अधिकारीले बताउनुभयो । अन्य कैदीबन्दीको तुलनामा यस रोगका कैदीबन्दीलाई कारागारले रोगको अवस्था हेरी विभिन्न सुविधा दिने पनि गरेको छ । सामान्य औषधी सेवन गर्ने यस्ता विरामीलाई कारागारले मोजा बुन्ने लगायत कारागार भित्र रहेको पुस्तकालयमा पुस्तक र पत्रिका पढ्ने अवसर पनि प्रदान गरिरहेको परियारले जानकारी दिनुभयो । “कारागार भित्र हाल तीन वटा बल्क रहेका हुँदा नयाँ भवनमा ४८५, अन्य दुई भवनमा ५४७ र ५१५ कैदीबन्दीहरु रहेका छन्”, परियारले थप्नुभयो, “कारागार भित्र १२२ विदेशी र एक हजार ४२५ स्वदेशी कैदीवन्दीहरु रहेका हुन् । ३२ किसिमका अपराधमा मुछिएका यी कैदीबन्दीलाई कारागारमा राखिएको बताइएको छ ।

कारागारमा रहेका कूल कैदीबन्दीमा ३३६ लागुऔषध, २८६ जवरजस्ती करणी, २०९ कर्तव्यज्यान मुद्दा, १०३ डाकाडाली, एक सय जना बैंङ्कि कसुर, ९२ चोरी मुद्दा, ३८ जना जीउज्यान, ३९ जना सवारीसाधन र ४३ जना राजस्व अपचलनमा सम्बन्धित रहेका कारागारले जानकारी दिएको छ ।

प्रकाशित मिति : January 2, 2020 at 6:54 pm