६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

बेलका नगरपालिकामा प्याराग्लाइडिङको तयारी


१७ पुस, गाईघाट । भ्रमण वर्ष २०२० लाई लक्षित गरी उदयपुरको बेलका नगरपालिकाले साहसिक पर्यटनका लागि प्याराग्लाइडिङ उडानको तयारी गरेको छ । बेलका नगरपालिका ८, बोप्लाङ डाँडाबाट प्याराग्लाइडिङका लागि आवश्यक तयारी पूरा गरेको नगर प्रमुख दुर्गाकुमार थापाले बताए ।

नगर प्रमुख थापाले सप्तकोसीको मनोरम दृश्यसँगै उडानस्थलको डाँडाबाट सोमबारेस्थित ल्यान्डिङ स्थलसम्म छर्लङ्ग देख्न सकिने र त्यसका लागि परीक्षण उडान सफल भइसकेको बताए । नगरपालिकाले प्याराग्लाइडिङ उडानका लागि आवश्यक तयारी गर्न स्थानीय बेलका पर्यटन विकास समितिमार्फत करिब १५ लाख रुपियाँ खर्च गरी उडानस्थल र ल्यान्डिङस्थलको तयारी पूरा गर्नुका साथै करिब १ करोड रुपियाँको लागतमा सोमबारेदेखि बोताङ सम्मको मोटरबाटो निर्माण सम्पन्न गरी यसअघि नै सञ्चालनमा ल्याइसकेको खबर गोरखापत्र दैनिकमा छ ।

सेनाको पूर्वी पृतनाले बेलकाको यसै स्थलबाट २६ जवानलाई प्याराग्लाइडिङको पाइलट तालिम सम्पन्न गरी हालै पहिलो ब्याच उत्पादन गरेको तथा बूढासुब्बा प्याराग्लाइडिङ धरान सुनसरी र बेलका नगरपालिकाको साझेदारीमा यसअघि नै १६ जनालाई स्लो पाइलट तालिम दिई आवश्यक जनशक्तिसमेत तयार पारिएको नगर प्रमुख थापाले बताए ।

बेलकाको आकाश र यहाँको क्षेत्र सुरक्षित भएकै कारण सेनाले प्याराग्लाइडिङको नयाँ खोजमा सहयोग गर्न यहाँ तालिम दिएको जनाइएको छ । एसियन प्याराग्लाइडिङ एसोसिएसनको आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्यान्ड ग्लाइडिङ एसोसिएसन (नेफा) प्रदेश–१ को समन्वयमा गत साउनमा भएको पाइलट तालिम भएको हो ।

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ०७:१२