२० कार्तिक २०८१, मंगलवार | Wed Nov 6 2024

१७ पुस, चितवन ‘हात्ती मान्छेको साथी’ भन्ने मूल नारासाथ आयोजना गरिएको हात्ती महोत्सवमा हात्तीको पिकनिकको आयोजना गरिएको छ । हात्तीले मन पराउने खाना खुवाएर हात्ती वनभोज गराइएको हो ।

सौराहाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हात्तीका विभिन्न गतिविधिमध्ये वनभोज पनि एक हो । ‘हात्तीलाई काममा मात्रै लगाइँदैन । मीठोमठो खानेकुरा पनि खुवाइन्छ भन्ने सन्देश दिन हात्तीका लागि वनभोज गराइएको हो,’ हात्ती महोत्सवअन्तर्गत हात्ती खेलकुद समिति संयोजक अन्जन पाण्डेले भने, ‘हामी हात्तीलाई यातना दिएर होइन मीठामीठा खानेकुरा खुवाएर फकाइफकाई काममा लगाउँछौँ भन्ने सन्देश हात्ती वनभोजले दिएको छ ।’

हात्ती महोत्सव आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहा पूर्वअध्यक्ष सुमन घिमिरेले एउटा हात्तीलाई २५ किलोका दरले खानेकुरा खुवाएर पिकनिक गराइएको बताए  । हात्तीलाई मनपर्ने खानेकुरा उखु, सुन्तला, केरा, गाजरलगायत फलफूल र धान, भेली, नुन, चनालाई परालमा बेरेर बनाइने कुची दिएर हात्तीको वनभोज गरिएको खबर गोरखापत्र दैनिकमा छ ।

वनभोजमा चितवनमा रहेका ८५ हात्ती सहभागी थिए । सौराहाको निजी क्षेत्र र चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीलाई हात्ती वनभोजमा सहभागी गराइएको थियो । हात्तीका लागि आयोजित पिकनिक कार्यक्रम पर्यटकका लागि आकर्षण मानिएको छ । ‘पर्यटन वर्ष २०२० को पहिलो दिनमै भएको हात्ती पिकनिक कार्यक्रमले पर्यटक तान्न सहयोग पुग्ने विश्वास गर्न सकिन्छ,’ घिमिरेले थपे । हात्ती पिकनिक पछिल्लो समय पर्यटकले मन पराइरहेकाले हेर्नेको घुइँचो बढेको छ । पिकनिकको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले हात्तीलाई खाना खुवाएर उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ०६:४८