९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

धार्मिक सहिष्णुता राखेर समृद्धिमा लागौँ : मन्त्री रावल

१५ पाैष, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले धार्मिक सहिष्णुता राखेर सरकारले तय गरेको समृद्धिको यात्रामा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । नववर्ष सन् २०२० को पूर्वसन्ध्यामा इसाई समाज सुर्खेतद्वारा सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उहाँले बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय देश नेपालमा विविधताभित्र एकता कायम भएको बताउनुभयो ।

मुलुक धर्मनिरपेक्ष भइसकेकाले विभिन्न धर्ममा आस्था राख्ने सबै समुदायका नागरिकलाई धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै देश विकासमा लाग्न उहाँले आग्रह गर्नुभयो । कर्णाली प्रदेश सरकारले लिएको ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’ को लक्ष्य हामी सबै धर्म सम्प्रदायका मिलेर पूरा गर्नुपर्छ”, मन्त्री रावलले भन्नुभयो, “यो ख्रिष्टमस पर्वले हामी सबैलाई एक भएर काम गर्ने प्रेरणा मिलोस् ।” नयाँ वर्षको नयाँ ऊर्जाले कर्णाली प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने उहाँले जिकिर गर्नुभयो ।

इसाई धर्मगुरु रेभरेण्ड डा बालकृष्ण शर्माले धर्म र संस्कृतिले चरित्रवान एवं निष्ठावान व्यक्ति निर्माण हुने बताउनुभयो । डा शर्माले भन्नुभयो, “खराब कुराको जरा मानिसको हृदयमा भएको पाप हो । जसले मानवबीच हिंसा, विवाद, द्वन्द्व ल्याएको छ ।” तीर्थ तथा दानले उद्धार र मुक्ति पाउन नसकिने भन्दै संसारका दीन, दुःखी र अप्ठ्यारोमा परेकाहरुका सहयोगी बन्न उहाँले सबैलाई आग्रह गर्नुभयो । इसाई समाज सुर्खेतका अध्यक्ष रेभरेण्ड पास्टर पदम गैरेले संविधानले व्यवस्था गरेको धर्मनिरपेक्ष राज्यमा सबै धर्मावलम्बीलाई समान व्यवहार गरी असल संरक्षकको भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : December 31, 2019 at 10:24 am