चुनौती बन्यो उपत्यकाको फोहोर !
१५ पुस, काठमाडौं । नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोर फाल्न थालेको १४ वर्ष पुग्दा पनि विकल्प तयार नहुँदा अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । फोहोर फाल्ने ठाउँ भरिनुका साथै स्थानीयका गुनासा र अवरोधले गर्दा यस्तो अवस्था आएको हो ।

दुई वर्षका लागि मात्र काठमाडौँको फोहोर फाल्न तयार गरिएको सो स्थानमा २०६२ जेठ २२ देखि फोहोर फालिँदै आएको छ । काठमाडौँ महानगरपालिका वातावरण विभागअन्तर्गत फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालले भने, “एकातिर सिसडोलको क्षमतै भरियो, अर्कातिर स्थानीयका गुनासा र अवरोधबीच अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।’’
काठमाडौँ, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाइएको सिसडोलमा हाल १८ नगरको फोहोर फालिँदै आएको खबर गोरखापत्र दैनिकमा छ । वैकल्पिक ल्यान्डफिल साइटका रूपमा नुवाकोटकै बन्चरे डाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण हुँदै छ ।
गएको मंसिरदेखि नै बन्चरे डाँडामा फोहोर लाने भनिए पनि निर्माण नसकिएकाले सिसडोलमै कोच्याइएको छ । सिसडोलदेखि बन्चरे डाँडासम्मको १.९ किमि सडक निर्माणको काम सडक विभागले अन्तिम चरणमा पुगेको भए पनि ल्यान्डफिल साइट निर्माणको भौतिक प्रगति भने ३० प्रतिशत मात्र छ ।
सिसडोललाई सास्ती
१४ वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्धले आक्रान्त छन् सिसडोलका बासिन्दा । त्यति मात्र होइन, पछिल्ला वर्षमा फोहोरका कारण प्रभावित क्षेत्रका बासिन्दा स्वास्थ्य समस्याबाट समेत ग्रस्त रहेको बताउँछन्न्छ, धुनिबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य । उनका अनुसार सिसडोलको तल्लो क्षेत्रमा पर्ने कोल्पु खोला आधार क्षेत्रमा खेतीपाती नै हुन छोडेको छ । स्थानीयका अनुसार ककनी २ र ३, धुनीबेँसी १ लगायत तल्लो क्षेत्र फोहोर कुहिएर बगेको लेदोले प्रभावित छ ।
प्रकाशित मिति : December 31, 2019 at 6:29 am







