प्याज व्यापारीसँग पाँच हजार घुस खाने सशस्त्र प्रहरी जवान रंगेहात पक्राउ
१४ पौष, काठमाडौँ । प्याज व्यापारीसँग घुस खाने सशस्त्र प्रहरी जवान रंगेहात पक्राउ परेका छन । सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई रु पाँच हजार घुस लिएको अभियोगमा सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । मोरङको सीमा सुरक्षामा खटिएका जवान विश्वासले भारतबाट प्याज ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोग लागेको छ । आरोपी सशस्त्र प्रहरी जवानको छानविन भइरहेको आयोगले जनाएको छ ।

आयोगले आजै सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोगमा वीरगञ्ज महानगरपालिकाको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई पक्राउ गरेको छ । आयोगका अनुसार जैसवालले उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरी दिएबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आज सोही कार्यालयबाट पक्राउ गरिएको हो । आरोपीमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : December 30, 2019 at 9:40 pm









