१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

सरकार छाडेपछि कांग्रेससँग नजिकिँदै समाजवादी

१४ पुस, काठमाडौं सरकारबाट बाहिरिएपछि समाजवादी पार्टी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग नजिकिएको छ । कांग्रेसँसग मोर्चाबन्दी र सहकार्य गर्न उसले प्रस्तावसमेत गरेको छ ।

राष्ट्रियसभा तथा सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्न समाजवादीका नेताहरूले प्रस्ताव राखेका हुन् । सरकारको कार्यशैलीविरूद्ध सहकार्य गर्न प्रस्तावसहित नेताहरूले कांग्रेसका नेताहरूसँग संवाद र छलफल सुरु गरेको खबर नागरिक दैनिकमा छ ।

कांग्रेस सभापति शेरबहादुर देउवलाई भेट्न समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, कार्यकारिणी अध्यक्ष उपेन्द्र यदव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ बिहीबार साँझ देउवा निवास बूढानीलकण्ठ पुगेको थिए । छलफलमा कांग्रेस उपसभाति विमलेन्द्र निधि पनि थिए ।

समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष यादवले कांग्रेस सभापति देउवासँग भेट भएको स्वीकार गरे । तर भेटबारे थप बोल्न चाहनेनन् । भेटको विषयवस्तबारे पनि उनले केही बोलेनन् । तर समाजवादी पार्टीका महासचिव रामसाहाय यादवले समाजवादी पार्टीले उठाएको माग र एजेन्डा कार्यान्वयन गर्न जो सुकै पार्टीसँग पनि कुराकानी गर्ने बताए । राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस र समाजवादी पार्टीबीच सहकार्य गर्ने सहमति भने भैनसकेको उनले बताए । उनले भने, ‘कांग्रेस र समाजवादी पार्टीले राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गरे पनि हामी बहुमतमा पुग्ने स्थिति देखिन्न ।’

समाजवादी पार्टी सरकारबाट बहिर्गमन मात्र भएको छैन, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । समाजवादीबाट सरकारमा प्रतिनिधित्व गरेका उपेन्द्र यादव र इस्तिायक राईले मन्त्रीबाट राजीनामा दिएको भोलिपल्टै समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनीहरूले कांग्रेससँग भेट गरेका हुन् । समाजवादी पार्टीले उठाएको संविधान संशोधनको मुद्दामा सरकार तयार नभएको भन्दै ऊ सरकारबाट बाहिरिएको थियो ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा कांग्रेसका १९ प्रदेशसभा सांसद र ८१ स्थानीय तहका प्रमुख-उपप्रमुख छन् । यसैगरी समाजवादीका ३० प्रदेश सांसद र ५२ जना स्थानीय तहमा प्रमुख-उपप्रमुख छन् । यसैगरी, प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टीका ३२ जना प्रदेश सांसद र स्थानीय तहमा प्रमुख/उपप्रमुख ८३ जना छन् ।

यसैगरी प्रदेश २ मा राजपाका प्रदेश सांसद २५ र स्थानीय तहमा प्रमुख-उपप्रमुख ५४ जना छन् । यसबाट राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २ मा नेकपा र राजपाको गठबन्धन बहुमतमा पुग्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति : 07:17