२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

दक्षिण अफ्रिकाको पहिलो जित

१४ पुस, काठमाडौं दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट खेलमा १०७ रनले जितेको छ । नयाँ बलले आक्रमण सुरु गरेको दक्षिण अफ्रिकाले इंग्ल्यान्डका ६ ब्याट्सम्यानलाई ११ ओभरमै पेभेलियन फर्काएर पहिलो टेस्ट जित्न सफल भयो ।

दक्षिण अफ्रिकाको छैटौं प्रयास जितमा बदलेको हो । पहिलो पारीमा २८४ रनको योगफल तयार गरेको दक्षिण अफ्रिकाले जवाफमा इंग्ल्यान्डलाई १८१ रनमा समेट्दै १०३ रनको महत्त्वपूर्ण अग्रता लिन सफल भयो ।

दोस्रो पारीमा २७२ रन बनाउँदै पाहुना टोली इंग्ल्यान्डसमक्ष उसले ३७६ रनको औसत लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा इंग्ल्यान्डले ९२ रनमा पहिलो विकेट गुमाएर उत्कृष्ट सुरुवात गर्दै ४ विकेटको क्षतिमा २०४ रन जोड्न सफल भयो । जितका लागि मात्र १७२ रन आवश्यक छँदा बाँकीको ६ विकेट मात्रै ६४ रन जोडेर २६८ मा समेटिन पुग्दा दक्षिण अफ्रिकाको जित सम्भव भएको हो । अफ्रिकालाई जित दिलाउन कगिसो रबाडाले सर्वाधिक ४ तथा एन्रिक नोर्जेले ३, केशव महाराजले २ र ड्वायन प्रिटोरियसले १ विकेट लिए ।

यसअघि दक्षिण अफ्रिकाले क्विन्टन डे ककको ९५ तथा जुबैर हाम्जाको ३९ रनको सहयोगमा २८४ रनको योगफल तयार गरेको थियो । इंग्ल्यान्डका लागि स्टुअर्ट ब्रोड र साम कर्रनले सर्वाधिक चार विकेट लिँदा जोफ्रा आर्चर र जेम्स एन्डरसनले १-१ विकेट लिए ।

जवाफमा १५ रनमै २ विकेट गुमाएको इंग्ल्यान्डले जोय डेन्लीको अर्धशतकमा १८१ रन बनाएर समेटिन पुग्यो । इंग्ल्यान्डलाई सस्तोमा समेटन वर्णोन फिलन्डरले सर्वाधिक ४ तथा कगिसो रबाडाले ३ र एन्रिक नोर्जेले २ र ड्वायन प्रिटोरियसले १ विकेट लिए । खेलको म्यान अफ दी म्याच क्विन्टन डे कक घोषित भए । –एजेन्सी

प्रकाशित मिति : १४ पुष २०७६, सोमबार ०७:०९