१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

राजश्व चुहावट नियन्त्रण गर्न छलफल

१३ पाैष, विराटनगर । राजश्व चुहावट नियन्त्रण र उद्योग व्यापारमा देखिएका समस्या समाधान गर्न राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, भन्सार विभाग, उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घबीचको छलफल शनिबार यहाँ सम्पन्न भएको छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले आन्तरिक राजश्व, भन्सार, राजश्व विभाग प्रत्यक्ष उद्योग/व्यापार क्षेत्रसँग सरोकार राख्ने निकाय भएकाले उद्योग/व्यवसाय क्षेत्रको समस्या समाधानमा यी तीन निकायको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले राजश्व चुहावट नियन्त्रण गर्न ऐन, नीति नियम कार्यान्वयनमा देखिएका जटिलतालाई सहज बनाउन सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनुभयो । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले उद्योग/व्यवसाय क्षेत्रका समस्या प्रस्तुत गर्दै उद्योग र व्यापार/व्यवसाय निर्वाधरूपमा सञ्चालन गर्न कानूनी असपष्टता रहेको बताउनुभयो । आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले व्यवसायीले भोग्नुपरेको समस्या समाधानमा आन्तरिक राजश्व विभागले सदैव सहयोग पुर्याउने बताउनुभयो ।

उहाँले औद्योगिक क्षेत्रको उत्पादन वृद्धि भई व्यापारमा सन्तुलन ल्याउनका साथै मुलुकलाई समृद्ध बनाउने निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने कुरामा जो दिनुभयो । निर्देशक कुँवरले निजी क्षेत्रको विकासका लागि नीतिमा देखिएका अप्ठ्यारालाई क्रमशः सच्याएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले उद्योगी/व्यवसायीबाट प्राप्त सुझावलाई आगामी दिनमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले बदलिँदो नीति नियममा शुरुआती चरणमा अप्ठ्याराहरु देखिएको भए पनि यसलाई क्रमशः सुधार गरिँदै लगिएको जानकारी दिनुभयो । भन्सार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्दै समृद्ध राष्ट्र बनाउन सरकारसँगै निजी क्षेत्रसमेत बलियो हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष, कार्यकारिणी समिति सदस्य, जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष आन्तरिकएवं प्रतिनिधि, राजश्व अनुसन्धान कार्यालय इटहरी, भन्सार कार्यालय विराटनगर,  राजश्व कार्यालय विराटनगरका प्रमुख तथा उद्योगी व्यावसायीको सहभागिता थियो ।

प्रकाशित मिति : December 29, 2019 at 10:48 am