राष्ट्रिय एकता र समृद्धिको जनमत तयार पार्न लाग्नुस्ः अध्यक्ष दाहाल
१२ पाैष, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा एकरुपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने भएकाले एकीकृत भएर अगाडि बढ्न प्रेस सङ्गठन नेपाललाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ । नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूलाठूला परिवर्तन भएका छन् ।”
परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताउनुभयो । “अहिलेको अन्तरराष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ । त्यसमा पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्यरूपमा काम गरेको छ । त्यसका लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ ।”

उहाँले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजक हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीलाई आग्रह पनि गर्नुभयो ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिबद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको अध्यक्षको भनाइ थियो । “पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौँ । पाँच वर्षका लागि सरकार दिन्छौँ भनेका थियौँ, त्यो हामीले दिएका छौँ । पाँच वर्षका लागि बनेको सरकारले इमान्दारीका साथ काम गरिरहेको छ ।”
अध्यक्ष दाहालले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिबद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले सरकारले इमान्दारिताका साथ काम गरिरहेकाले विरोधीले गरेको जस्तो प्रचारले कुनै अर्थ नराख्ने भन्दै त्यस्ता प्रचारको खण्डन गर्नसमेत आग्रह गर्नुभयो । “पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौँ । पाँच वर्षका लागि सरकार दिन्छौँ भनेका थियौँ त्यो हामीले दिएका छौँ” पूर्ण अवधिका लागि बनेको सरकारले इमान्दारिका साथ काम गरिरहेको छ, कुनै आशङ्का नपालौँ, नराखौँ ।” पार्टीका विचार, राजनीतिक, दृष्टि, पार्टीका कार्यक्रमलाई जनतामा लगेर कम्युनिष्ट पार्टी नै राष्ट्रको एकतालाई सृदृढ गर्ने भन्दै उहाँले राष्ट्रको स्वन्त्रता र भौगोलिक अखण्डतालाई संरक्षण गर्ने काममा अग्रणी र नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्नुभयो ।
समाजको सामाजिक न्याय, समृद्धिको लडाईंमा कम्युनिष्टले सबैभन्दा अगाडि रहेर बलिदान दिएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले राष्ट्रको एकता र समृद्धिका लागिसमेत सरकार र पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
केही प्रतिक्रान्तिकारी शक्तिले अझै पनि परिवर्तनलाई उल्ट्याउने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले त्यो कुनै हालतमा सफल हुन नसक्ने उल्लेख गर्नुभयो । हालै सम्पन्न स्थायी कमिटी बैठकबाट पनि विचारमा एकरुपता हुुनु नै पार्टी एकताको मुख्य आधार हो भनेर जोड दिएको भन्दै उहाँले विचारमा एकरुप आधार बन्दैनथ्यो भने केही समूह र नेतृत्वले चाहदैमा पार्टी एकतासमेत हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो विचारमा माक्र्सवाद, लेलिनवाद, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलाई दृष्टिकोण मान्ने, माक्र्सवाद लेलिनवादको आधारभूत सिद्धान्तलाई निर्देशनात्मक सिद्धान्तका रुपमा आत्मसात् गर्ने र शान्तिपूर्णरुपले प्रतिस्पर्धा गर्दै समाजवादको बाटोतिर अघि बढ्ने भन्ने कुरामा समानता नभएको भए कसैले चाहदैमा यो एकता सम्भव थिएन ।”
अध्यक्ष दाहालले संविधान गतिशील दस्तावेज भएकाले जनता र राष्ट्रको आवश्यकताअनुसार परिमार्जन गर्दै लैजाने स्पष्ट पार्नुभयो । देशको राष्ट्रियता स्वाधीनता सार्वभौमसत्ता, भौगोलिक अखण्डताबाहेकका राजनीतिक विषय परिवर्तनशील रहेको संविधानले नै स्पष्ट पारेकाले समय क्रममा संशोधन गर्ने बताउनुभयो ।
कार्यक्रममा महासचिव विष्णु पौडेलले पार्टी र सरकारको निर्देशनअनुसार प्रेस सङ्गठन प्रतिबद्ध भएर परिचालित हुनुपर्ने बताउनुभयो । उहाँले पार्टीको विरोध गर्न सीमाभित्र रहेर गर्न पाइने र वैचारिक विषयवस्तुलाई सङ्गठनले बोकेर लैजानुपर्नेमा जोड दिनुभयो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सङ्गठनलाई पार्टीको गुट वा उपगुट, यो नेता वा त्यो नेता नभनी पार्टीको वैचारिक कुरालाई आत्मसात गर्नुपर्ने बताउनुभयो । उहाँले सङ्गठनलाई सरकार र पार्टीको राम्रो कामको प्रचारमा लाग्नसमेत निर्देशन दिनुभयो । उहाँले माक्र्सवाद, समाजवादी कार्यक्रम, सरकार र पार्टीको लक्ष्यलाई आत्मसात गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले तथ्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति : 18:46









